विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशमा आएर सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् ।
कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका हुन् ।
आज(बुधबार) बिहान विराटनगरको एसियाटिक होटलमा गोष्ठीको उद्धघाटनपछि १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई तत्काल तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन् । तस्करी नियन्त्रणमा ३० दिनभित्र अनुभूति हुनेगरी एक्सन लिन निर्देशन दिए । तस्करीले अपराध बढाएको छ, राजश्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ, गृहमन्त्री लेखकले भने, तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिनेछ ।
गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले शान्ति सुरक्षाको सवालमा राज्य कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारेका छन् । कोशी प्रदेशमा लागुऔषध, सवारी दुर्घटना र आत्महत्या जस्ता घटनाले गम्भीर चुनौती थपिरहेकाले यस तर्फ पनि गम्भीर लाग्नुपर्ने बताए ।
गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थित रहेको छ । गोष्ठीमा गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सहभागिता रहेको छ । यता गृहमन्त्री विराटनगर सवार भईरहँदा भने विराटनगरका ट्राफिक लाईट बन्द गरेको भन्दै तिव्र आलोचना भएको छ ।
यता विराटनगरका विभिन्न स्थानहरुमा आम सर्वसाधरणलाई आउजाउ गर्न रोक लगाएको भन्दै विराटनगरवासीले आक्रोस पनि व्यक्त गरिरहेका छन् ।