विराटनगर । विराटनगर महानगरपालिकाले २०७९ साल भदौ ९ गते स्वेतपत्र जारी गर्दै दुई अर्ब नजिक बेरुजु भएको सार्वजानिक गरेको थियो । स्वेतपत्र जारी गर्दा एक अर्ब ८६ करोड ५२ लाख २४ हजार बेरुजु फस्र्यौट हुन बाँकी रहेको उल्लेख गरिएको थियो ।
पछिल्लो महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपिँयाको लेखापरीक्षण गराउँदा २ करोड ८ लाख ५७ हजार बेरुजु प्रतिवेदनले देखाएको हो ।
विराटनगर महानगरपालिका आर्थिक प्रशासन महाशाखा प्रमुख संजीवकुमार भट्टराईका अनुसार आर्थिक वर्ष २०८०/२०८१ म २१ करोड बेरुजु फस्र्यौट भएको छ । भट्टराईका अनुसार श्वेतपत्र जारी गर्दा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु देखिएको थियो । त्यसमा २०७८/०७९ सालको २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो. । तर, त्यहि वर्ष एक अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फस्र्यौट भएको थियो ।
बाँकी बेरुजु ७६ करोड ९ लाख ७२ हजार रहेको थियो । आर्थिक वर्ष २०७९/०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु थपियो तर २३ करोड ८३ लाख फस्र्यौट भएको थियो ।
२०७९÷०८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार थियो । महालेखाको प्रतिवेदन अनुसार २०८०/०८१ मा २ करोड ८ लाख थपिएको छ भने २१ करोड फछ्र्यौट भएको छ । महानगरपालिकाले क्रमशः बेरुजु घटाउँदै आर्थिक वर्ष २०८०/२०८१ सालमा ३१ करोड ४६ लाख २५ हजारमा झारेको आर्थिक प्रशासन महाशाखाका प्रमुख भट्टराईले जानकारी दिएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्यभार सम्हालेको ३९ महिना पुग्दै गर्दा एक अर्ब ६३ करोड भन्दा बढीको बेरुजुलाई ३१ लाखमा झार्न सफल भएको बताएका छन् । उनले आगामी वर्षको महालेखाको प्रतिवेदन आउँदा समग्र बेरुजुको ग्राफ अझै घट्ने र चालु आर्थिक वर्षको बेरुजु अझै कम हुने विश्वास व्यक्त गरेका छन् । तीन वर्ष अगाडीसम्म १ अर्ब ६३ करोड ५७ लाख ४३ बेरुजु रहेकोमा क्रमशः घटाउँदै ३१ करोडमा झार्नु र आर्थिक वर्ष २०७९/०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु रहेकोमा २०८०/०८१ मा २ करोड ८ लाखमा झार्नुलाई सकारात्मक मान्नुपर्ने प्रमुख कोइरालाको भनाई छ ।
महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले विकासका कामसँगै आर्थिक सुशासनमा लिइएका निर्णयको सकारात्मक सुचकहरु प्राप्त भएको बताएकी छिन् । उनले बेरुजुलाई शुन्यमा झारेर मात्रै पाँचवर्षे कार्यकाल समाप्ती गर्ने लक्ष्य राखेर श्वेतपत्र जारी गरिएको दावी गरेकी छिन् । कार्यकाल सुरु भएको वर्ष २२ करोड ९४ लाख ८१ हजार, दोस्रो वर्ष ७ करोड ११ लाख ५३ हजार र तेस्रो वर्षसम्म आउँदा दुई करोड ८ लाख मात्रै बेरुजु देखिनुलाई आर्थिक सुशासनको संकेत गर्ने उपप्रमुख कार्कीको भनाई थियो ।