विराटनगर । विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान्स क्लबले हात पारेको छ।
शनिबार विराटनगर जुटमिल खेल मैदानमा आयोजित फाइनल खेलमा धरानले आयोजक मिल्स भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
धरानको जीतमा सनलाल राई, सतिश केसी र प्रीतम राईले एक/एक गोल गर्दै टोलीलाई सफलता दिलाए। उपाधिसँगै धरानले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता मिल्सले ३५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि आयोजक टोलीका जय देवकोटाले प्राप्त गरे। म्यान अफ द म्याच धरानका पदम राई घोषित भए भने हाइ स्कोरको उपाधि आयोजकका कृष्ण राईले प्राप्त गरे।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरी, विराटनगर–१६ का वडा अध्यक्ष उद्धव भुजेललगायत अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।