काठमाडौँ । डिजिटल युगको तीव्र विस्तारसँगै पत्रकारिताको माध्यम र शैली पनि परिवर्तन भइरहेको छ। परम्परागत माध्यमहरू संकटमा छन्। नयाँ–नयाँ माध्यमहरू आइरहेका छन्।
विशेषगरी, अनलाइन प्लेटफमहरू सशक्त बन्दै गएका छन्। भिजुअल कन्टेन्टको प्रभावकारिता बढ्दो छ। यही बीचमा, वैकल्पिक पत्रकारिताको अभ्यासलाई प्राथमिकतामा राख्दै स्थापना भएको हो, अनलाइन प्लेटफर्म ‘खोज समाचार डटकम’।
यस अनलाइनले छोटो समयमा नै समाचारमा फरक शैली र दृष्टिकोणका साथ आफूलाई प्रस्तुत गर्दै एक फरक पहिचान बनाउन थालेको छ। यसका संस्थापक रोशन श्रेष्ठ हुन्। तीन वर्षअघि सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भई सञ्चालित खोज समाचार बेथेल मिडिया हाउस प्रालि अन्तर्गत सञ्चालन भइरहेको छ।
काठमाडौं महानगरपालिका–३२, पेप्सिकोलामा कार्यालय रहेको यस डिजिटल मिडियाले लेख, भिडियो रिपोर्ट तथा विशेष अनुसन्धानात्मक सामग्री उत्पादन तथा प्रकाशन गर्दै आइरहेको छ। मिडियाको मूल उद्देश्य नै समाजमा रहेका बेथितीको उजागर गर्नु र नागरिकलाई सुसूचित गर्नु हो। यस मिडियाले पनि नेपाली समाजमा व्याप्त भ्रष्टाचार, सामाजिक विकृति र विसङ्गति प्रति खबरदारीलाई आफ्नो लक्ष्य केन्द्रित गरेको छ।
संस्थापक श्रेष्ठका अनुसार, खोज समाचारले युवापुस्तालाई राष्ट्रिय सरोकार र उत्तरदायित्वपूर्ण नागरिक चेतनातर्फ अभिमुखीकरण गराउने लक्ष्य लिएको छ।पत्रकारिताको पारम्परिक ढाँचाबाट बाहिर निस्किएर खोजमूलक र जनमुखी सामग्री तयार पार्ने प्रयास यस प्लेटफर्मको केन्द्रीय विशेषता बनेको छ।
यो अनलाइन अहिले एक सानो तर समर्पित पाँच सदस्यीय स्थायी टिमद्वारा सञ्चालित छ। सम्पादकीय नेतृत्व पुष्पा तामाङले सम्हालिरहेकी छन्। सामग्रीको वितरणमा सामाजिक सञ्जाललाई मुख्य माध्यमका रूपमा लिँदै आएको खोज समाचारले ८ लाखभन्दा बढी फेसबुक फलोअर्स र ४८ हजारभन्दा बढी युट्युब सदस्यता संख्यासहित डिजिटल माध्यममा सशक्त उपस्थिति जनाइरहेको छ। सामाजिक विषयवस्तुमा जनतालाई प्रत्यक्ष सरोकार हुने रिपोर्टिङ शैली र भिडियो सामग्रीमा प्रस्तुत गरिने सहज भाषिक शैलीले यसले आम दर्शकमाझ उल्लेखनीय स्थान बनाएउन सफल भएको छ।
भनिन्छ, पत्रकारिता सन्तुलित र मर्यादित हुनुपर्छ । कसैलाई झूठा आक्षेम लगाउने तथा कसैको महिनागान गाउने गर्नु हुँदैन। यद्यपि, खोज समाचारका संस्थापक श्रेष्ठमाथि सुरुमा केही नयाँ राजनीतिक शक्ति र नेताहरूको पक्ष लिएको र सोहीअनुसार समाचार सम्प्रेषण गर्ने गरेको आरोप पनि लाग्ने गर्दथ्यो ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौंका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ र धनगढीका मेयर गोपाल हमाल जस्ता नयाँ राजनीतिक नेताहरूलाई विशेष प्राथमिकता दिइएको भन्दै श्रेष्ठको सम्प्रेषण शैली एकपक्षीय रहेको टिप्पणी हुने गर्दथ्यो। तथापि, पछिल्लो समय श्रेष्ठले सम्प्रेषणमा सन्तुलन ल्याउने प्रयास गरिरहेको देखिन्छ। उनले अहिले आफ्नो मिडियालाई पूरै व्यवसायिक बनाउदै लगेका छन् । कसैको पक्ष र विपक्ष भन्दा पनि जनतालाई कसरी सुसूचित गराउन सकिन्छ भन्नेमा मुख्य ध्यान भएको देख्न सकिन्छ । तसर्थ पत्रकारिता क्षेत्रमा यो मिडिया लामो रेसको घोडा हो भन्न सकिन्छ।
मिडियाको बजार विश्वभरी नै साँघुरिदो छ। आम्दानी घटिरहेको छ। ठूलाठूला स्थापित मिडिया हाउस पनि संकटमा पर्न थालेका छन्। यसको प्रभाव यो मिडियामा पनि नपर्ने कुरै भएन। तर साधन, संरचना र ठूलो विज्ञापन आम्दानीको अभाव भए पनि, खोज समाचार सानो टिमबाट पनि सत्यनिष्ठ, सन्तुलित र उत्तरदायी पत्रकारिता सम्भव हुन्छ भन्ने विश्वासमा आधारित रहेर अघि बढिरहेको छ। यसले देखाएको वैकल्पिक दृष्टिकोण, जनमुखी प्रस्तुति र सामाजिक सरोकारमा आधारित रिपोर्टिङ शैली डिजिटल पत्रकारिताको मूलधारमा छुट्टै धार निर्माण गर्ने दिशामा अग्रसर देखिन्छ। बजारमा मिडियाहरू बग्रेल्ती छन्। सूचनाको बाढी छ। तर कुन सूचना सही हो। कुन गलत हो भनेर छुट्याउन कठिन छ। यही बीचमा फरक र नयाँ शैली जसले अपनाउन त्यो स्थापित हुन्छ।
खोज समाचारले देखाएको यो साहसी प्रयासले नेपालको पत्रकारितामा फरक धार र नविन प्रयोगको सम्भावनालाई थप सशक्त बनाएको स्पष्ट देखिन्छ। यदि समयानुकूल विषय चयन, अनुसन्धानको गहिराइ र सम्प्रेषणमा अझ सन्तुलन कायम गर्न सकेमा, खोज समाचार डटकमले नेपाली डिजिटल पत्रकारितामा दीर्घकालीन प्रभाव पार्न सक्नेछ। त्यसका आधारहरू तयार भइरहेको देखिन्छ।