विराटनगरमा बजार अनुगमन : कारबाही अगाडी सचेत

<span class='c1'>विराटनगरमा बजार अनुगमन :</span> <span class='c2'>कारबाही अगाडी सचेत</span>

हटियाबाट अवैध ढक–तराजु हटाउँदै, मापदण्डमा आउन मासु पसल पत्राचार
विराटनगर । कोशी अस्पताल विराटनगर परिसरका चिया–नास्ता पसलमा म्याद नाघेको खाद्य वस्तु बिक्री भईरहेको उपभोक्ताको सूचना आएपछि महानगरपालिकाको टोलि अनुगमनमा पुग्यो । अनुगमनमा पुग्दा बेकरी आइटम अन्तर्गत ब्रेड, क्रिमरोल तथा दुनटका प्रकारमा उत्पादन मिति तथा लेवल नभएको भेटियो । उत्पादक उद्योगले अस्पताल परिसरका चिया–नास्ता पसल तथा ठेलाहरुमा बिक्रीका लागि पठाएका यस्ता वस्तु भेटिएपछि महानगरपालिकाको अनुगमन टोलिले सम्बन्धित व्यवसायीमार्फत फिर्ता पठाउन लगायो ।

विराटनगर महानगरपालिका अनुगमन निरीक्षक सरोज गौतमका अनुसार अस्पताल परिसरमा म्याद यकिन नभएका यस्ता वस्तु बिक्री हुने गरेको उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न त्यहाँ पुगिएको थियो । उपभोक्ताकै अनुमान अनुसार नतिजा समेत फेला परेपछि त्यसलाई सच्याउन सहज समेत भयो । तर, उपभोक्ताकै सुचनाका आधार बनाएर मात्रै अनुगमन गर्दछ भन्ने चाँहि नभएको उनी बताउँछन् । यद्यपी उपभोक्ता नै सचेत भए न्युन गुणस्तरको वस्तु बजारमा बिक्री वितरणमा कमी आउने गौतमको बुझाई छ ।

बाहिरी परिसरको अनुगमनपछि महानगरपालिकाको टोलिले अस्पतालको क्यान्टिनको समेत अनुगमन गरेको थियो । सरकारी अस्पतालमा बिरामी तथा कुरुवालाई खाना खुवाउने क्यान्टिन पुग्दा त्यहाँ समेत कैफियत फेला पारेपछि त्यसलाई सुधार गर्न निर्देशन दिएर फर्किएको थियो । कोशी अस्पतालको क्यान्टिल हदैसम्मको फोहोर र पकाउने भाँडा समेत राम्ररी सफा नगर्ने गरेको पाइएको हो । त्यति मात्रै नभई बिरामीलाई खाना खुवाउन काटिरहेको करेला झोलाबाट सिधै झिक्ने गरेको भेटिएको थियो ।

संघीय सरकार मातहत रहेको अस्पतालको क्यान्टिन अस्पताल प्रशासन र विकास समितिले सुधार गर्नुपर्ने हुन्छ । तर, चिकित्सक तथा स्वास्थ्यमा जानकार भएकाहरु दैनिक काम गर्ने क्यान्टिन फोहोर हुँदा समेत वास्ता नगरेकोप्रति महानगरपालिकाले चासो राखेको छ । गौतमका अनुसार क्यान्टिनको व्यवस्थापन सुधार गर्न महानगरपालिकाले अस्पताल प्रशासनलाई पत्र काटेरै सचेत गराउने तयारी गरेको छ ।
सेवाग्राही तथा उपभोक्ताले गरेका गुनासोसँगै महानगरपालिकाले बजार अनुगमनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै २८ स्थानको अनुगमन गरेर कैफियत सच्याउन निर्देशन गरेको तथ्यांक छ ।

अनुगमनको समेत जिम्मेवारी उपप्रमुखलाई हुन्छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको संयोजक उपप्रमुख कार्कीका अनुसार व्यवसायीलाई हतोत्साहित नपारी बजार अनुगमनलाई नियमित कार्यक्रममै राखिएको छ । तर, अनुगमनमा देखिएको त्रुटी सच्याउँनै नसक्ने तहका भए विधागत र तहगत कारवाहीका लागि सिफारिस गर्ने गरिएको छ । यदि त्रुटी सामान्य मात्रै भए त्यसलाई सच्याउन अनुरोध गर्ने गरिएको उनी बताउँछिन् ।
यसरी अनुगमन गरिएकामा ठूला होटलदेखि मिठाइ पसलसम्म छन् । उपभोक्ताको बढी भीड हुने कतिपय होटलहरुले हदैसम्मको खेलाँची समेत गरेको अनुगमनमा पाइएपछि त्यसलाई तत्काल सच्याउन निर्र्देशन दिने र त्यसको पुनः अनुगमन गर्दा सकारात्मक नतिजा भेटिने गरेका उदाहरण समेत रहेका छन् ।

हतोत्साहित नगर्ने तर सच्याउन कडाई
अनुगमन निरीक्षक गौतमका अनुसार व्यवसायीलाई हतोत्साहित नपारी उनीहरुलाई सच्याउनेतर्फ महानगरपालिकाले बढी जोड दिने गरेको हो । अनुगमनका क्रममा कर्मचारीको पोशाक, क्याप, मास्क नगाएको, व्यवसाय थप गर्नुपर्ने, नमुना संकलन, मिठाइमा रङ्ग र हाइड्रोको बढी प्रयोग गरिएको, भान्सा र भाँडा माझ्ने स्थान अलग नभएको, एउटै तेलमा बारम्बार खानेकुरा तारेको र व्यवसाय दर्ता नगरी पसल सञ्चालन गरेको समेत भेटिने गरेको छ । तर, उनीहरुलाई पहिलो पटक त्यस्ता कैफियत सच्याउन भनेपछि दिएको अवधीमा पुनः अनुगमन गर्दा सच्चिने गरेको गौतमको भनाई छ ।
उपप्रमुख कार्की समेत हतोत्साहित पार्न पहिला नै उनीहरुको सामान्य त्रुटी बाहिर ल्याउने र सार्वजानिक गर्ने कामले व्यवसायिक वातावरण बिग्रनसक्नेतर्फ सचेत भईरहेको बताउँछिन् । उनले सच्याउन सक्नेसम्मका कमजोरीलाई सच्याएर उनीहरुको रोजीरोटीमा असर नपार्ने नीति महानगरपालिकाले लिएको प्रष्ट्याइन् ।

विराटनगर हटियामा ढुंगाको ढक–तराजु विस्थापित
गत माघमा विराटनगर महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठक उपप्रमुख शिल्पा निराला कार्कीको संयोजकत्वमा बसेको थियो । त्यसले महानगरपालिकाका हटियाबाट ढुंगाको ढक तथा बाँसको तराजु विस्थापित गर्ने निर्णय लिइएको थियो । नागरिकको गुनासो आएपछि लिइएको यो निर्णयको कार्यन्वयन सकारात्मक देखिएको छ ।
महानगरपालिकाका हटियाबाट कानुन विपरित नापतौलमा प्रयोग हुने ढक तथा तराजु उठाइएको छ । विराटनगर महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार २० वटा हटियाबाट गैरकानुनी रुपमा प्रयोग भईरहेका ढक तथा तराजु उठाइएको हो । महानगरपालिकामा ४२ वटा हटिया लाग्ने गरेको छ । पौडेलले नियमित अनुगमनबाट अवैध रुपमा प्रयोग हुने ढक तथा तराजु उठाएपछि आकस्मिक चेकजाँच पनि भईरहेको छ । कोहि नयाँ भएर प्रयोग गरिरहेको बाहेक पुरानाले भने त्यसलाई सच्याएको पौडेलको दावी छ । उनका अनुसार २० हटियामा पुग्ने व्यापारी नै अन्य हटियामा समेत पुग्ने भएकोले बाँकीको अनुगमन गरिएको छैन । तर, बाँकी रहेका हटियामा समेत आकस्मिक निरीक्षण गर्ने काम भने भईरहेको उनको दावी छ ।

मासु पसललाई मापदण्डमा आउन निर्देशन
विराटनगर महानगरपालिकाले मासु तथा माछा पसलहरुलाई मापदण्ड पुरा गरेर सञ्चालनका लागि निर्देशन दिएको छ । यस अनुसार मासु पसलहरुले मापदण्डमा आएको स्वघोषणा गर्नुपर्ने भन्दै पत्राचार गरिएको छ । पशुपंक्षी शाखाका हिरालाल यादवका अनुसार स्वघोषणको पत्र पठाउने क्रममा ११२ वटा मासु पसललाई पत्र पठाइएको थियो । जसमध्ये धेरैमा सुधार भएको र केहि सुधार हुने क्रममा रहेको यादव बताउँछन् । महानगरपालिकाले तरकारी र माछा बिक्रीलाई अलग गर्ने निर्णय समेत गरेको छ । त्यस बाहेक तरकारीको विषादी अवशेष गर्ने मोवाइल मेशिन खरिद गर्ने प्रक्रियालाई समेत अगाडी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्