विराटनगर । राजनीतिक विवाद सिर्जना गरेको विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजनाको अध्यक्षमा लालमणी भट्टराई निर्वाचित भएका छन् । विराट खानेपानी उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएकाृ खानेपानी आयोजनाको गत जेठ १९ गते निर्वाचन भईरहेको बेला सिर्जना भएको विवाद एकवर्षपछि पुनः निर्वाचन प्रक्रियाबाट टुङ्गिएको पनि छ ।
मतगणनाको अन्तिम परिणाममा अध्यक्ष भट्टराईले १ हजार ८८९ मत प्राप्त गरेका हुन् । भट्टराईसँगै प्रतिस्पर्धी राम बहादुर घिमिरेले १ हजार १५४ मत प्राप्त गरे । भट्टराईसँग घिमिरेको मतान्तर ७३५ छ । अध्यक्ष प्रतिस्पर्धी दुर्गा चापागाईँले ६३५ मत मात्रै प्राप्त गरेकी छिन् ।
तीनवटा प्यानल निर्वाचनमा होमिएको थियो । जसमा नेकपा एमाले निकट प्यानल भट्टराई र घिमिरेको थियो । नेपाली काँग्रेस आवद्ध दुर्गा चापागाँई थिइन् । नेकपा एमाले मोरङमा यहि मानगढ निर्वाचनको विषयले एकवर्षसम्म हानाथापको अवस्था सिर्जना गरेको थियो । तत्कालिन एमाले जिल्लाको संगठक समितिका अध्यक्ष बाबुराम कार्की थिए । उनी हुँदा एमालेको आधिकारिक उमेदवार राम घिमिरे रहेको निर्णय गरिएको थियो । त्यो निर्णयका विरुद्ध तत्कालिन महानगरपालिका अध्यक्ष सागर थापाले लालमणी भट्टराईलाई सहयोग गरेपछि उनलाई निलम्बन गरियो । त्यति मात्रै नभई अध्यक्षका उमेदवार भट्टराई र उनलाई समर्थन गरेको आरोपमा उपसचिव नवराज नेपाल समेत कारवाहीका भागिदार बनेका थिए ।
एमाले भित्रको यो विवाद एकवर्षसम्ममा टुङ्गिएको मात्रै छैन, विराटनगरमा बिनोद ढकाल र सागर थापाको समर्थन पूर्ण रुपमा स्थापीत समेत भएको छ । पार्टीको १० जिल्ला अधिवेशनदेखि महानगरपालिकाको निर्वाचन हुँदै मानगढ खानेपानी आयोजनाको निर्वाचनको अभिमत ढकाल पक्षमा एकलौटीएको छ ।
मानगढ खानेपानीको निर्वाचनमा भट्टराई, घिमिरे र चापागाईँ प्यानलै प्रतिष्पर्धामा उत्रिएका थिए । तर, निर्वाचन परिणाम सार्वजानिक हुँदा मिश्रित देखिएको छ । महिला उपाध्यक्षमा चापागाईँ प्यानलकी सावित्रा पोखरेल निर्वाचित भइन् । उनले १ हजार २०३ मत प्रात गरिन् । महिला उपाध्यक्षका उम्मेदवारहरू सावित्रा कुमारी न्यौपानेले १ हजार १३९ र देवीमाया बास्तोलाले ७८८ मत प्राप्त गरिन् ।
खुला उपाध्यक्षमा पनि चापागाईँ प्यानलकै भोलानाथ घिमिरे निर्वाचित भए । घिमिरेले १ हजार ३६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षका उम्मेदवारहरू मध्ये बुद्धिप्रसाद पौडेलले ८५०, रुद्र बहादुर कार्कीले ७०९, कौशिला बन्जरा रेग्मीले ४५० र दामोदर खरालले ९८ मत पाएका छन् ।
सचिवमा भट्टराई प्यानलकै प्रदीप कुमार नेपाल निर्वाचित भए । नेपालले १ हजार ६७९ मत प्राप्त गरेका छन् । सचिवमै नगेन्द्र प्रसाद ढकालले ८४३ र पवन भट्टराईले ७४१ मत पाए । कोषाध्यक्ष पदमा सरोज घिमिरे ९६५ मत प्राप्त गर्दै निर्वाचित भए । कोषाध्यक्षका प्रतिष्पर्धीहरू मध्ये हिरण्य निरौलाले ९२०, राजेन्द्र कुमार पोखरेलले ७४७ र अन्नपूर्ण पोखरेलले ५०८ मत प्राप्त गरे ।
महिला सदस्यहरुमा दुईजना निर्वाचित हुनुपर्नेमा सात जना उमेदवार रहेका थिए । जसमा शान्ति बस्नेत रिजाल १ हजार १४९ र अञ्जु तिम्सिना कटुवाल १ हजार १५७ मत प्राप्त गरि निर्वाचित भएका छन् । दुवै महिला सदस्य भट्टराई प्यानलका हुन् ।
खुला सदस्यमा भने घिमिरे प्यानलका केशवप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार चुडामणि खतिवडा (वसन्त) निर्वाचित भएका छन् । आचार्यले १ हजार ४६ र खतिवडाले १ हजार ४८ मत प्राप्त गरेका हुन् । मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्ता मतदाता रहेका थिए । कुल उपभोक्ताको ६६ प्रतिशत अर्थात ३ हजार ९६४ मत खसेको थियो ।
