इन्दु साह
विराटनगर । कोशी अस्पतालबाट महेन्द्र चौकसम्मको यात्रा गर्ने क्रममा एक महिलासँग सिफी सफारीका चालकले ५० रुपैँया भाडा मागे । यात्रा गर्ने ती महिलाले ३० रुपैँया भाडा लाग्ने बताउँदा उनले ‘हिँडेर जानुपर्छ’ भन्ने जवाफ फर्काए । त्यस क्रममा लागेको भाडा तिर्ने तर बढी नतिर्ने बताएपछि चालकले महिलालाई अपमानजक व्यवहार गरेको उनको गुनासो छ ।
सिटी सफारी भाडा सम्बन्धी यो घटना विराटनगरमा यात्रुहरूले भोग्नु परेको साझा समस्या नै हो । सोमबार बिहान सफारीमा सवार गरेकी महिलाले दुरी अनुसार तोकिएको भाडा ३० रुपैँया तिर्न खोज्दा चालकले बारम्बार एकजना मात्रै यात्रुको ५० रुपैँया नै लाग्ने भन्दै दादागिरी देखाएका थिए । यात्रा गर्ने क्रममा सफारी चालकले गरेको अपमानजक हर्कतपछि उनले यो विषय भाडादर कायम गर्ने सरोकारवाला पक्षसम्म गुनासो गरिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर जानकारी दिइन् ।
विराटनगरका सर्वसाधारण विशेषगरी विद्यार्थी तथा दैनिक यात्रा गर्ने नागरिकहरु यस्ता समस्याबाट दैनिक हैरान छन्। सिटी सफारीमा यात्रु सङ्ख्या बढ्दो रहे पनि भाडादर नतोकिँदा चालकहरूले मनपरी भाडा असुल्ने गरेका हुन्। कतिपय यात्रुहरूबाट ३० रुपैयाँको सट्टा ८० देखि १०० रुपैयाँसम्म लिने गरिएको गुनासो समेत आउने गरेको छ ।
मोरङ जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजन लम्सालका अनुसार हालै भाडा सम्बन्धी अत्यधिक गुनासो आएपछि निगरानी बढाइएको पनि छ । उनले यात्रुहरूको हितमा चाँडै स्पष्ट भाडादर तोकेर त्यसलाई कार्यन्वयनमा ल्याउने उनले बताए । सार्वजानिक सवारीले मनपर्दी भाडा असुल्न खोजे नजिकको ट्राफिकसँग गुनासो गर्न समेत अनुरोध गरेका छन् । विराटनगरमा सार्वजनिक यातायातलाई नियमित, र यात्रु मैत्री बनाउने उद्देश्यले स्थानीय सरकारले सिटी सफारीको नियमित भाडादर निर्धारण गर्नु अत्यावश्यक देखिएको छ । साथै सबै सवारीमा भाडा सूची अनिवार्य रूपमा टाँस्ने र ट्राफिक प्रहरीको दैनिक निगरानी प्रणाली प्रभावकारी रूपमा लागू गर्ने आवश्यक छ ।