इन्दु साह
विराटनगर । विराटनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान अझै पनि जारी रहेको छ। काठमाडौंमा चैत्रदेखि वैशाख अन्त्यसम्म चलेको शिक्षक आन्दोलनका कारण भर्ना प्रक्रिया प्रभावित भई ढिलाइ हुन पुगेको हो।
शिक्षक आन्दोलनमा विराटनगरका पनि धेरै शिक्षक सहभागी भएकाले वैशाखमा हुने नियमित भर्ना अभियान समयमै सञ्चालन हुन सकेन। विराटनगर महानगरपालिकाको शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार अहिले पनि सामुदायिक विद्यालयहरूमा भर्ना चलिरहेको छ । शिक्षक आन्दोलनका कारण भर्ना अभियानमा ढिलाइ भयो, अधिकृत भट्टराईले भने त्यसैले यसपटक जेठ महिनाभर भर्ना प्रक्रिया जारी राखिएको छ।
उनका अनुसार अन्य वर्षहरूमा वैशाख महिनामा मात्र भर्ना हुने गरे पनि यस वर्ष शिक्षक आन्दोलनका कारण समय थपिएको हो। भर्ना ढिलाइ भए पनि अहिले विद्यालयहरूले पठनपाठन र भर्ना कार्यलाई एकैसाथ सञ्चालन गरिरहेका छन्। आन्दोलनका कारण केही समय शिक्षण क्रियाकलाप अवरुद्ध भए पनि अहिले पुनः नियमित रुपमा कक्षा सञ्चालन भइरहेको उनको दावी छ।
यता पोखरीया माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय र सत्यनारायण माध्यमिक विद्यालयजस्ता प्रतिष्ठित विद्यालयहरूमा भने भर्ना प्रक्रिया सकिएको छ। पोखरीया मा.वि.मा २ हजार ५०० विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा सातसय विद्यार्थी मात्र भर्ना गरिएको प्राचार्य खेमराज भट्टराईले जानकारी दिए।
त्यस्तै, आदर्श मा.वि.मा १ हजार ७ सय मध्ये ३ सय विद्यार्थी भर्ना भएको प्राचार्य सन्तोष पोखरेलले जानकारी दिएका छन् । हाल उक्त विद्यालयमा ३ हजार छ सय विद्यार्थी अध्ययनरत छन्। सत्यनारायण मा.वि.मा भने १ हजार ३ सय बढीले प्रवेश परीक्षा दिएकामा ३ सय ३८ विद्यार्थी मात्र भर्ना गरिएको प्राचार्य पुरुषोत्तम गुरागाईंले जानकारी दिएका छन् ।
यी विद्यालयमा भर्ना प्रक्रिया सकिए पनि अन्य विद्यालयहरूमा भने भर्ना अभियान अझै पनि जारी छ। हालसम्म सामुदायिक विद्यालयहरूमा कति विद्यार्थी भर्ना भएका छन् भन्ने तथ्यांक भने विराटनगर महानगरपालिकाले सार्वजनिक गरिसकेको छैन। महानगरपालिकामा सामुदायिक विद्यालय ५७ वटा रहेका छन् । जसमा धार्मिक तथा गुरुकुल समेत पर्दछन् ।