विराटनगर । गणतन्त्र दिवसकाे अवसरमा कोशी प्रदेश सरकारले अन्तरक्रिया पछि विराटनगरमा कन्सर्ट आयोजना गर्ने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा रहेको मूल समारोह समितिले जेठ १५ गते बिहीबार कन्सर्ट आयोजना गर्ने भएको हो ।
गणतन्त्र दिवसकै अवसरमा बुधबार बिहान राजनीतिक पार्टीका नेताहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम समेत गरिनेछ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’का विषयमा अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।अन्तरक्रियामा एमाले नेता प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नेछन् । वक्ताका रुपमा कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र माओवादी नेता हरिबोल गजुरेल सहभागी हुनेछन् ।
मुख्यमन्त्रीको अध्यक्षतामा रहेको गणतन्त्र दिवस प्रदेशस्तरीय मुल समारोह समितिले जेठ १५ गते रोडशेष चोकबाट महेन्द्र चौकसम्म प्रभातफेरि गर्ने, सोही दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिताका विजेतालाई सम्मान गर्ने र दिउँसो कन्सर्ट आयोजना गर्ने तय गरेको छ। जेठ १५ गते बिहीबार दिउँसो विराटनगरस्थित महेन्द्र चोकमा ‘राष्ट्रिय भावनाले ओतप्रोत गीत–संगीतयुक्त कन्सर्ट’ आयोजना गर्ने भएको हो । बिहीबार दिउँसो ३ बजे विराटनगरको महेन्द्र चोकमा सरकारले आयोजना गर्ने कन्सर्टमा गायिका रचना रिमाल, अञ्जु गौतम, गंगा गौतम, सृष्टि हिङ्माङ, सुमित खड्का लगायतले प्रस्तुति दिने मुल समारोह समितिले जनाएको छ ।