विराटनगर । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

व्यावसायीहरुले सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको प्रेस विज्ञप्ती जारी बन्दको घोषणा गरेको हो ।
बन्दको लागि सातवटा यातायात संगठनहरू ( सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन) ले संयुक्त विज्ञप्ति जारी गर्दै सेवा बन्दको घोषणा गरेका छन् । सेवा ठप्प हुँदा यात्रुहरूलाई पर्न सक्ने असुविधाको जिम्मेवारी सरकारकै हुने व्यवसायीहरूको भनाइ छ ।
