विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल, नेपालका दुईजना वेपत्ता भएका छन् । मधेश प्रदेशस्तरीय विपद् प्रतिकार्य पूर्व अभ्यासका क्रममा रहेको बेला सप्तकोशी नदी, कोशी ब्यारेजमा उनीहरु वेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता डिआईजी कालिदास धौवाजीले सशस्त्रका जवाफ सरोज साउद र हरिदेव राजबंशी वेपत्ता भएको जानकारी दिएका छन् । २ नम्बर बाहिनीले २४ गते आयोजना गर्ने कार्यक्रमका लागि पूर्वअभ्यास गर्ने क्रममा उनीहरु वेपत्ता भएका हुन् । ‘सिमुलेशनका लागि पूर्व अभ्यास गर्दै थिएछन्, त्यहि क्रममा दुईजना वेपत्ता भएको घटना विवरण छ, डिआईजी धौवाजीले भने–खोजी कार्य भईरहेको छ ।

सप्तकरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले घटना भएपछि अहिले खोजी कार्य भईरहेको जानकारी दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयले मधेश प्रदेशस्तरीय कार्यक्रम राखेको थियो । साउद शिक्षालयकै हुन् भने राजबंशी दुई नम्बर बाहिनी अन्तर्गतका हुन् ।
स्थानीय एक युवाका अनुसार कोशी ब्यारेजको सप्तरीतर्फको ५६ औं ढोका नजिक घटना भएको हो । घटनापछि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।