विराटनगर । जीवन विकास समाजले जनता बाल आधारभूत विद्यालय विराटनगर– १४ का प्रधानाध्यापक राजेशप्रसाद यादवलाई उत्कृष्ट प्रधानाध्यापक पुरस्कार प्रदान गरेकाे छ ।
आइतबार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको प्रगति समीक्षा एव पुरस्कार वितरण कार्यक्रममा समाजले जनता बाल आधारभूत विद्यालय विराटनगरका प्रधानाध्यापक यादवलाई एक लाख राशीको उत्कृष्ट प्रधानाध्यापक पुरस्कार प्रदान गरेको हो ।
जीवन विकासका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले उनलाई पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सांसद मण्डलले अर्को वर्षदेखि विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई पनि पुरस्कृत गर्ने घोषणा गरे । मोरङको दक्षिणी क्षेत्रका सामुदायिक विद्यालयहरुमा शिक्षण सिकाइका विभिन्न सूचाकका आधारमा उत्कृष्ट प्रधानाध्यापक घोषित गरिएको हाे ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका डाक्टर महाश्रम शर्माले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि जीवन विकासले महत्वपूर्ण योगदान दिइरहेको बताए ।
शिक्षाविद जनार्दन नेपालले सामाजिक संस्थाको रुपमा जीवन विकासले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि उदाहरणीय सहयोग गरेको बताए । जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले खस्कँदो अवस्थामा रहेको शैक्षिक अवस्था सुधारका लागि जीवन विकासले निरन्तर अभियान सञ्चालन गर्ने बताइन् ।
कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरुले जीवन विकासले विद्यालयको सिकाइ उपलब्धि सुधारका लागि निरन्तर सहयोग गरेको भन्दै खुसी व्यक्त गरे ।
नेपालमा दिगो विकासका लक्ष्य अन्तरगतको गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरे बापत जीवन विकास समाजलाई द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले तीन लाख अमेरिकी डलर बराबरको ‘एजीफण्ड अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरेको थियो । सो पुरस्कार राशिमा थप गरी ६ करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना भएको थियो ।
कोषले शिक्षा क्षेत्रमा राष्ट्रिय स्तरको पुरस्कार पनि प्रदान गर्छ ।