विराटनगर जेष्ठ २६, नेपाल–भारत युवा सम्मेलन आइतबार झापामा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनको आयोजना नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरले गरेको हो। कार्यक्रममा भारततर्फबाट योङ इन्डियनस संस्थाको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
एकदिने उक्त सम्मेलनमा नेपाल र भारतका सयभन्दा बढी युवा उद्यमीहरू सहभागी थिए। सम्मेलनको मूल उद्देश्य नेपाल–भारतबीचको व्यापार र पर्यटन क्षेत्रको सहयोग र विस्तार गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी युवा उद्यमीहरूले सीमापार व्यापार, उद्यमशीलता, पर्यटन प्रवर्द्धन, र युवा नेतृत्वका विषयमा विस्तृत छलफल गरेका थिए। सम्मेलनले दुई देशका युवाबीच सञ्जाल निर्माण र सहकार्यको सम्भावना विस्तार गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख हरिहर पौडेल, उद्योगी सुयश प्याकुरेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस्ता सम्मेलनहरूले नेपाल–भारत सम्बन्धलाई जनस्तरबाट बलियो बनाउन सहयोग पुर्याउने नेपाल युवा उद्यमी मञ्च विराटनगरका अधक्ष्य शुभम भट्टराईले बताए ।