इन्दु साह
विराटनगर । मौसम पूर्वानुमानमा यो वर्ष अघिल्ला वर्षभन्दा अधिक वर्षा र अधिक गर्मीको संभावना औंल्याइएको छ । यसका लागि तयारी विराटनगर महानगरपालिकाले तयारीका काम सुरु गरेको छ । वर्षापछिको बाढी र डुबानबाट विराटनगर त्यसैपनि प्रत्येक वर्ष नै आक्रान्त हुँदै आएको छ । अपवाद बाहेक यहाँको डुबान पीडा हरेक वर्ष दोहोरिनेमा पर्दछ । संभावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरले बाढी तथा डुवानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न विशेष तयारी थालेको छ । जसअन्तर्गत विपद् व्यवस्थापनका लागि ८ वटा समिति गठन गरेको विपद् व्यवस्थापन शाखा प्रमुख कमला निरौलाले जानकारी दिएकी छिन् । समग्र व्यवस्थापन सुचना खोज तथा उद्दार समिति, आश्रय स्थल व्यवस्थापन समिति, खाद्य तथा कृषि व्यवस्थापन समिति, स्वास्थ्य उपचार तथा पोषण समिति, उद्दार तथा राहत समिती, भौतिक पूर्वधार समिति, सुचना सम्प्रेशषण समिति, पशुपंक्षी व्यवस्थापन समिति गठन गरिएको निरौलाले जानकारी दिइन् ।
यी समितिको प्रमुखमा महानगरका मेयर नागेश कोईराला देखि वडाध्यक्षहरु रहेका छन् । जसमा समग्र व्यवस्थापन सुचना खोज तथा उद्दार समिति प्रमुखमा मेयर नागेश कोईराला, आश्रय स्थल व्यवस्थापन समिति उपमेयर शिल्पा निराला कार्की रहेका छन् । यसैगरी बाँकी समितिहरुमा क्रमशः वडा नं. ३ का वडाध्यक्ष बासु बहादुर बस्नेत, वडा नं. १ का वडाध्यक्ष काजी बहादुर बस्नेत, वडा नं. १९ का वडाध्यक्ष श्याम घिमिरे, वडा नं. २ का अध्यक्ष कुमार पोखरेल, वडा नं. ५ का सन्तोष न्यौपाने र तिर्थेन्द्र न्यौपाने रहेका छन् ।

सिंघिया र केशलिया खोला आसपासका क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ । वर्षेनी सिंघिया र केशलिया खोला आसपासका नागरीक डुवानबाट पिडित भईरहेका छन् । विराटनगरका वर्षातको समय विभिन्न वडाहरु डुवानमा पर्दै आएको छ । यस्तो आपतकालीन अवस्थाका लागि महानगरले सुरक्षित स्थान, नजिकैको विद्यालय, सार्वजनिक भवन वा अन्य सुरक्षित स्थान तोकेको छ । बाढी र डुवानबाट प्रभावित व्यक्तिहरूको उद्धारका लागि नजिकको नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी तथा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन सक्ने छन् ।
यसबाहेक, कुनै पनि समस्या वा आपतकालीन अवस्थाका लागि महानगरपालिकाले हटलाइन नम्बर १६६०२१४२२२२ मा तुरुन्त सम्पर्क गर्न सक्ने बताएको छ । यस वर्षदेखि विपद्कालागि महानगरले हटलाईन नम्बर सार्वजानिक गरेको हो । विराटनगरमा १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ सहित १३ वटा वडाका ५ हजार ७ सय ७५ बढी स्थानीय बासिन्दा बाढीको उच्च जोखिममा छन् ।
फोटो:फाइल