विराटनगर । कर्तव्य ज्यान कसुर गरेको आरोपमा पीडित परिवारले दिएको जाहेरीका आधारमा अदालतबाट प्रहरीले पक्राउ अनुमति लिन्छ । अदालतबाट पक्राउ अनुमति लिएपछि संलग्न भनिएका आरोपितहरुलाई नियन्त्रणमा लिने र जाहेरीमा उल्लेखित घटना विवरणका आधारमा अनुसन्धान सुरु गर्दछ ।
अनुसन्धानको प्रक्रिया सकाएर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेपछि अदालतमा अभियोजनको प्रक्रियामा जान्छ । तर, विराटनगर महानगरपालिका–१६ डिआईजी कार्यालय अगाडी २०७६ साल बैशाख ८ गते राती १० बजे भएको एउटा घटनामा संलग्न भनेर आरोप लगाइएका व्यक्तिहरुको मुद्दा बारम्बार पेन्डिङमा राखेर प्रहरीले यसबेला अनुसन्धान सुरु गरेको छ । महानगरपालिका–१६ डिआईजी कार्यालय अगाडीका एसराज लामाको छोरा रेम्बो भन्ने रुद्रराज लामा सुत्ने घर कोठामा २१ वर्षीया इसा योगी, पेट्रोल छर्केर आगलागी भई घाईते भएकी थिइन् । उनको उपचारका क्रममा बैशाख १३ गते किर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।
घाईते इसाको मृत्यु भएसँगै झापा अर्जुनधारा नगरपालिका–११ स्थित मृतककी आमा रत्न योगीले कर्तव्य ज्यान कसुर गरेको आरोप लगाउँदै कानुनी कारवाहीका लागि प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा प्रहरीले २०७६ असार ८ गते संलग्न भनिएका आरोपितलाई पक्राउ गर्न अनुमती लिइएको थियो । जाहेरीमा घटनामा संलग्न भनेर आरोप लगाएकामध्ये एसराज लामालाई झण्डै सातवर्षपछि प्रहरीले गत जेठ २४ गते साँझ पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । मृतककी आमा रत्नले प्रहरीमा दिएको जाहेरी अनुसार घटनामा एसराज लामाका छोरा रेम्बो भन्ने रुद्रराज लामा, उनकी श्रीमती रिना लामा समेत संलग्न रहेको उल्लेख गरिएको छ ।
घटना हुँदाताकाको भिडियो र जलेर सख्त घाईते इसाले किर्तिपुर अस्पतालमा प्रहरीलाई दिइएको मृत्युकालिन घोषणाको समेत भिडियो हुँदा समेत प्रहरीले सातवर्षदेखि उक्त घटना पेन्डिङमा राख्दै आएको थियो । मृत्युकालिन घोषणामा इसाले ‘बहाना बनाएर बोलाएर’ भनेकी छिन् । घटना भएकै दिनको भिडियोमा ‘बाबा मलाई बचाउनु, बाँच्न चाहन्छु, दादालाई बोलाईदिनु’ भनेर याचना गरेकी थिइन् ।
इलाका प्रहरी कार्यालय रानीले एसराज लामालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, उनलाई पक्राउ गरेपछि अहिले निर्दोषलाई पक्राउ गरिएको भन्दै स्थानीयहरुले ‘प्रहरीले नगर्ने काम गरिरहेको’ बताउँदै आएका छन् ।
जाहेरीमा उल्लेखित विवरण र इसाको मृत्युकालिन घोषणको विवरण लगभग मिल्ने इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए । उनका अनुसार कर्तव्य ज्यान कसुरमा अनुसन्धान गर्ने प्रमाणका आधार पर्याप्त छन् । तर, यतिका वर्षसम्म मुद्दा पेन्डिङमा रहनु आश्चर्यको विषय मानिएको छ । अहिले स्थानीयले उठाएको विषय समेत यहि हो । छवर्षसम्म मुद्दा पेन्डिङमा राखेर प्रहरी कार्यालय अगाडी नै पसल चलाएर बसेका व्यक्तिहरुलाई फरार भन्दै नियन्त्रणमा लिनु चाँहि गलत भएको उनीहरुको गुनासो छ ।
जाहेरीमा उल्लेख गरिएको विवरणमा इसा योगी शेर्पा विराटनगर रानीस्थित भाडाको घरमा बस्दै पसलमा काम गर्ने उल्लेख छ । त्यस क्रममा रेम्बो भन्ने रुद्रराज लामासँग प्रेम सम्बन्ध भएकोमा २०७६ बैशाख ८ गते घरमा बोलाएको भनिएको छ । घरमा पुगेको बेला परिवारका सबै सदस्य एकमुख भई अश्लिल बोलि बचन प्रयोग गरेको, कुटपिट गरी लडाएर पेट्रोल छर्की आगो लगाएको भनिएको छ ।
घाईते भएपछि बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका लागि भर्ना गरिएको थियो । थप उपचार आवश्यक परेपछि काठमाण्डौं किर्तिपुरस्थित बर्निङ्ग अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएको अवस्थामा प्रहरीले उनीसँग गरेको सोधपुछमा मृतक इसाले भनेकी छिन्–बहाना बनाएर मलाई बोलाए, रेम्बो भन्नेले, आमालाई...।’
स्थानीय अमृत गुरुङका अनुसार यो घटना भएको छ वर्षसम्म कोशी प्रदेश प्रहरी कार्यालयमा ६ जना डिआईजी फेरिए । त्यतिनै संख्यामा इलाका प्रहरी कार्यालय रानीका इन्चार्ज र जिल्लामा प्रहरी प्रमुख । तर, घटना भएको छ वर्षपछि कर्तव्य ज्यान कसुरमा संलग्न भन्दै डिआईजी कार्यालय अगाडी घर भएका व्यक्ति पक्राउ गरेर हतारमा फरार प्रतिवाद पक्राउ भन्ने सूचना सार्वजानिक गरिनु दुःखद् हा । उनका अनुसार सोझा र इमान्दार छन्, अहिले पक्राउ परेका एसराज लामा । उनकै घरमा घटना हुँदा प्रहरी समेत त्यहाँ डेरा गरेर बसेका थिए । घटनाको प्रत्यक्षदर्शी प्रहरी समेत रहेका थिए । लामो समयसम्म पक्राउ नगरेर छोरा विदेशमा भएका बेला बुबालाई घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्नु गलत भएको उनी बताउँछन् ।
मुद्दामा प्रतिवादी रहेकी रिना लामा (एसराज श्रीमती÷रेम्बोकी आमा) ले घटना आफ्नै घरप्राङगणमा भएको बताइन् । उनका अनुसा छोरा रेम्बोमा लागुऔषधको लत थियो । त्यहि क्रममा उनको इसासँग चिनजान भएको थियो । ‘खानेहरुका आफ्नै साथी हुन्छन्, जुवा खेल्नेहरुको जस्तै’ उनले भनिन्–लागुऔषध खान नपाउँदा पेट्रोल छर्केर आगो आफैं लगाएकोले प्रहरीले यतिन्जेल नपक्रेको हो । उनले प्रहरीले छ वर्षपछि पक्राउ गरेर फरार भन्ने सूचना जारी गर्नुले अचम्ममा परेको सुनाइन् । डिआईजी अफिस अगाडी ३० वर्षदेखि घर र घरमा पसल सञ्चालन गर्दै आएका छौं, यसबेला प्रहरीबाट फरार भनेर आफ्नो समाचार पढ्नु परेको छ, रिनाले भनिन्–घटना भएको छ महिनापछि छोरा दुबई गएको छ । उनका अनुसार घटनापछि एक चरण प्रहरीले उनीहरुसँग सोधपुछ गरेको थियो । तर, अदालतबाट पक्राउ अनुमति लिएको मुद्दाका प्रतिवादीमाथि अनुसन्धान गरेर प्रतिवेदन बुझाउने प्रक्रिया भने थालिएको थिएन ।
प्रहरी निरीक्षक राईले आफ्नो क्षेत्रमा पर्ने पेन्डिङ मुद्दा र फरार प्रतिवादीको विवरण अध्ययन गर्दा अनुसन्धान गर्ने पर्याप्त प्रमाण भएको केस फेला परेपछि विवरण अनुसार सम्बन्धित व्यक्ति नियन्त्रणमा लिइएको सुनाए । उनले घटनामा संलग्न भनिएकाहरुलाई जहाँबाट भएपनि उठाएर ल्याउने र कानुनसम्मत न्याय निरुपणका लागि प्रहरीले गर्ने अनुसन्धानको प्रक्रियालाई टुङ्ग्याउने बताए । तर, प्रतिवादी भनिएकी रिना (एसराज लामाकी श्रीमती) ले प्रहरीले सुरुमै यो कानुनी प्रक्रिया अगाडी बढाई दिएको भए यसबेला यस्तो दुःख खेप्नुनपर्ने थियो । उनले भनिन्–छोरो विदेशमा छ, श्रीमान त बिरामी पनि हुनुहुन्छ, यसबेला के गरेको थाहा छैन, हामी मान्छे मार्न सक्दैनौं । उनले घटना भएको दिन भिडियो खिच्ने व्यक्ति समेत प्रहरी नै भएको सुनाइन् । घटनापछि यतिका वर्षसम्म प्रहरीसँग दैनिक भेटघाट भईरहेको भएपनि मुद्दा छ भन्ने कुरा समेत कसैले जानकारी नदिएको उनी गुनासो गर्दछिन् ।