प्रेम देवान
विराटनगर । सहकारी संस्थामा लगानी गरेका सर्वसाधारण नेपाली नागरिकहरूको पीडा र मर्मलाई फिल्मको माध्यमबाट उतारिएको नेपाली चलचित्र ‘महाभोज’ को प्रि–भ्यु प्रिमियर आज(बिहीबार) विराटनगरमा सम्पन्न भएको छ ।

विराटनगरको सेन्ट्रल मल भित्र रहेको सेन्ट्रलमल्टिप्लेक्स भव्य समारोहबीच आयोजित उक्त प्रिमियर शो कार्यक्रममा विराटनगरका अधिकास सहकारी पिडित समेत सहभागी भएका थिए । कलाकार सहितको उपस्थितीमा आयोजना गरिएको प्रि–भ्यु प्रिमियर कार्यक्रममा राजनीतिकर्मी सामाजिक तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

चलचित्रले पछिल्लो समय नेपालभरि व्यापक चर्चा पाएको सहकारी घोटालाका घटनालाई समेट्दै पीडित बचतकर्ताहरूको आवाज बुलन्द गर्ने प्रयास गरेको छ । विराटनगरमा भएको प्रि–भ्यु प्रिमियरमा फिल्मका निर्देशक दिनेश राउत सहित मुख्यकलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अन्जली बराईली , मल्लिका महतसँगै सहकारी पिडित सघर्ष समितका कुशलव केसी सहभागी भएका थिए ।

चलचित्रका निर्देशक दिनेश राउत फिल्म हेरिसकेपछि दर्शकहरुमा पुगेर कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘‘महाभोज केवल एउटा चलचित्र होइन, यो त हजारौं पीडितको कथा हो। हामीले सिनेमाको माध्यमबाट उनीहरूको आवाज सिंगो समाजमा पुर्याउने प्रयास गरेका छौं।’’
चलचित्रमा प्रमुख भूमिकामा रहेका मुख्य कलाकारहरूले भने, आफ्नो भूमिकामार्फत समाजमा चेतना फैलाउने उद्देश्य रहेको बताए । भोलीबाट हलहरुमा लाग्न लागेको ‘महाभोज’ लाई आफ्ना परिवार छरछिमेकी तथा सहकारी पिडितहरुलाई एक पटक हलहरुमा पुगेर हेरिदिनको लागी आग्रह पनि गरे । यता फिल्म हेरिसकेपछि सहकारी पिडित तथा दर्शकहरूले पनि चलचित्रको विषयवस्तु, अभिनय तथा प्रस्तुतिलाई प्रभावशाली रहेको बताउँदै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

फिल्ममा समेटिएका विषय अहिलेका हामी सहकारी पिडितहरुको बारेमा रहेको फिल्म हेरिसकेपछि तुलसी सहकारी पिडित सिता कार्की आफ्नो प्रतिक्रिया दिईन् । महाभोजमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको छ । विराटनगरमा भएको प्रि भ्यु प्रिमियर पस्चात फिल्मको टोली धरान स्थित फ्रेण्ड्स सिनेमाजमा ग्राण्ड रेडकार्पेट प्रिमियर शोको लागि प्रस्थान भएका थिए ।

चलचित्र ‘महाभोज’ यस अघि नै प्रर्दशनीमा आउन लागेको थियो । तर विविध कारण रोकिएको थियो र भोलीबाट मुलुकभरका हलहरुमा प्रदर्शनीमा आउन लागेको फिल्मका बितरक कम्पनी कुबेर सिने डिस्ट्रीव्युटर्सका पुस्कर घिमिरेले जानकारी दिए । सामाजिक न्याय र पारदर्शिता सम्बन्धी बहस चलिरहेका बेला आएको यस चलचित्रले सहकारी क्षेत्रमा सुधारको मागलाई थप सशक्त बनाउने विश्वास लिइएको छ ।
