विराटनगर । वैदेशिक रोजगारीमा किर्तिस्तान पठाउने भन्दै झण्डै २० जना व्यक्तिलाई काठमाडौंमा ठगेर फरार भएका मेनपावर सञ्चालक खोज्दै पीडित विराटनगर आईपुगेका छन् ।
गत चैतमा किर्तिस्तानका पठाउने भन्दै नक्कली भिसामा उपलब्ध गराएर काठमाण्डौंस्थित सेप साइन ओभरसिजले २० जनाबाट झण्डै एक करोड बढी रकम असुलेको थियो । ओभरसिजका सुकबहादुर गजमेर र बिन्दु गजमेर यस अगाडी पक्राउ परेर १०-१० लाख धरौटीमा छुटेका छन् । त्यो मेनपावरबाट किर्तिस्तान पठाईदिने भन्दै पैसा असुल्ने व्यक्ति फिरोज मन्सुर रहेको पीडितको आरोप छ ।
फिरोज मन्सुरको स्थायी वतन मधेश प्रदेशको धनुषा जिल्ला अन्तर्गत तारापट्टी सिर्सिया–९ छ । उनी त्यहाँबाट बसाँई सरेर विराटनगर–१२ मा बसाँइ सरेर आएको देखिएपछि पीडितहरु उनलाई खोज्दै यहाँ आईपुगेका हुन् ।
श्रीमान ठगीमा परेपछि उनकी श्रीमती इन्द्रकुमारी खत्रीले वैदेशिक विभागमा दिएको उजुरीका आधारमा फिरोज मन्सुरलाई पक्राउ गरेर बुझाई दिन मोरङ प्रहरीमा पत्राचार गरिएको छ । वैदेशिक रोजगार विभाग, मुद्दा तथा अनुसन्धान शाखाले मोरङ प्रहरीलाई पठाएको पत्रमा वैदेशिक रोजगार न्यायाधिकरणबाट २०८२ बैशाख २५ गते फिरोज मन्सुरलाई पक्राउ गर्न अनुमति प्राप्त भएको उल्लेख छ । मोरङ प्रहरीलाई विभागले बैशाख ३० गते पत्र लेखेर मन्सुर पक्राउ गरिदिन आग्रह गरेको थियो ।
एक महिना अगाडी नै विभागले पठाएको पत्र अनुसार हालसम्म प्रहरीले उनलाई पक्राउ नगरेको गुनासो खत्रीको छ । खत्रीका अनुसार वैदेशिक रोजगारीमा ठगी गर्ने गिरोहमध्ये बेदबहादुर कार्कीले नक्कली भिसा पठाउँदै आएका थिए । त्यो देखाएर सेप लाइन ओभरसिजका सञ्चालक गजमेर दम्पती तथा मन्सुरले रकम लिने गरेका हुन् ।
मोरङको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कोपिला चुँडालले ठगीमा संलग्न भनिएका व्यक्ति विराटनगर नै भएनभएको यकिन हुन नसकेको बताइन् । उनले धनुषाबाट बसाँईसराई आएको यकिन खुल्ने कागजात पीडितसँग माग गरिएको सुनाइन् । उनले पीडितहरुको पीडा अनुसार प्रक्रिया पुरा गर्न नसक्दा सम्बन्धित व्यक्तिसम्म प्रहरी पुग्न नसकेको बताइन् ।
विभागले गरेको पत्राचारका आधारमा मात्रै प्रहरी उनीसम्म पुग्न नसकेको प्रवक्ता चुँडालको भनाई छ । उनले भनिन्–यकिन गरेर खोजतलास गर्दछौं, पक्राउ परेपछि विभागमा पठाउने छौं । तर, यो घटना वैदेशिक रोजगारी ठगी भन्दा पनि मानव बेचबिखन कसुर आकर्षित हुने बताउँदै प्रवक्ता चुँडालले नक्कली भिसामा विदेश पठाउने गिरोह नै संलग्न हुनसक्ने बताइन् ।