इन्दु साह
विराटनगर । विराटनगरमा गर्मीको तिव्रता बढेसँगै विद्युत आपूर्तिमा पनि अनियमितता देखिन थालेको छ ।
रातको समयमा, विशेष गरी राति ८ बजेदेखि २ बजेसम्म बत्ती जाने समस्या बढेपछि सर्वसाधारण घरबाहिर निस्किन बाध्य छन् । तर, लामखुट्टेको बढ्दो प्रकोपले उनीहरू थप जोखिममा परेका छन् । गर्मीको राहत खोज्दै बाहिर निस्किने नागरिकहरू लामखुट्टेको टोकाइमा परिरहेका छन् । जसले डेंगुजस्ता रोग फैलने जोखिम निम्त्याइरहेको छ । हालसम्म विराटनगरमा डेंगु संक्रमण पुष्टि नभए पनि जोखिम भने कायमै रहेको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलिप यादवले जानकारी दिए ।
उनका अनुसार, महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा लामखुट्टे नियन्त्रणका लागि २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये १३ लाख रुपैयाँ खर्च भइसकेको छ । संक्रमण नदेखिए पनि पूर्वसावधानी अपनाउन उनले आग्रह गरेका छन् । डा. यादवले नागरिकलाई आफ्नो घर, कार्यस्थल र सार्वजनिक स्थानहरूमा पानी जम्न नदिने, ट्याङ्की र भाँडाहरू सफा राख्ने, झुलको प्रयोग गर्ने, खानेपानी वा ढल चुहिएको भए तुरुन्त मर्मत गर्ने जस्ता उपाय अपनाउन सुझाव दिएका छन् । गर्मी, बत्तीको समस्या र लामखुट्टे तीनैको चपेटामा परेका विराटनगरवासीलाई रोगबाट बच्न सर्तकता अपनाउनु अपरिहार्य देखिएको छ । संक्रमण नफैलियोस् भन्नका लागि सतर्कता नै अहिलेको मुख्य उपाय हो ।
देशभर भने डेंगुको संक्रमण फैलिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२५ जनवरी १ देखि जुन ८ सम्म देशभर १ हजार २ सय ५५ जना डेंगु संक्रमित फेला परेका छन् । हालसम्म ७२ जिल्लामा डेंगु फैलिएको पुष्टि भइसकेको छ । डेंगु संक्रमण सबैभन्दा धेरै काठमाडौँमा देखिएको छ, जहाँ १३२ जना संक्रमित भेटिएका छन् । त्यसपछि कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना संक्रमित भेटिएका छन् ।
फोटो:फाइल