इन्दु साह
विराटनगर । विराटनगरका केही डेरी पसलमा आइतबार दूधको गुणस्तर परीक्षण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र विराटनगर महानगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गर्दै चार वटा डेरी पसलमा दूध परीक्षण गरेको हो ।
खाद्य निरीक्षण अधिकारी विरेन्द्र कुमार दासका अनुसार बरगाछीदेखि चाँदनीचोकसम्मका डेरी पसलमा घुम्ती प्रयोगशाला (मोबाइल भ्यान) मार्फत परीक्षण गरिएको हो । उक्त भ्यानले पसलमै पुगेर दूधको नमुना संकलन गरी तत्काल परीक्षण गर्ने सुविधा उपलब्ध गराउँछ । टोलिले परीक्षणका क्रममा चिनी, स्टार्च, न्युट्रालाइजर जस्ता वस्तु मिसावट गरिएको कुनै प्रमाण फेला नपरेको जनाएको छ । यद्यपी केही पसलमा सरसफाइमा कमजोरी देखिएकाले सुधार गर्न निर्देशन दिइएको खाद्य प्रविधि कार्यालयले जनाएको छ।
महानगरका खाद्य निरीक्षण टोलीका अनुसार डेरी व्यवसायीहरूलाई स्टेनलेस स्टिलका भाँडो प्रयोग गर्न, दूध बेच्दा पन्जा र टाउको ढाक्ने क्याप लगाउन अनिवार्य गरिएको छ । साथै उत्पादन र विक्रीका क्रममा स्वच्छताको मापदण्ड पालना गर्न निर्देशन दिइएको छ। खाद्य निरीक्षण अधिकारी दासले उपभोक्ताले खाद्य वस्तुमा कुनै शंका वा समस्या देखिएमा कार्यालय वा महानगरपालिकामा जानकारी दिन सक्ने बताए । उनका अनुसार गुनासोको आधारमा तत्काल परीक्षण तथा आवश्यक कानुनी कारबाही अघि बढाइने छ ।