विराटनगर । सीएनआई वाई ई एफ कोशी प्रदेशले नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धनका लागि स्थापना गरेको इनक्युबेशन सेन्टरको उद्घाटन नेपाल सरकारका पूर्व रक्षामन्त्री हरि उप्रेतीले गरेका छन्।
विराटनगरमा आयोजित कार्यक्रममा पूर्व रक्षामन्त्री उप्रेतीको प्रमुख आतिथ्यमा यो केन्द्रको भव्य उद्घाटन भएको हो।
उद्घाटन समारोहमा CNI कोशीका अध्यक्ष पवन सारडा, CNI कोशीका संस्थापक अध्यक्ष तथा हाल CNI केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, CNIYEF KOSHI का अध्यक्ष मुनन रिजाल तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व रक्षामन्त्री उप्रेतीले उद्यमशील युवाहरूलाई सशक्त बनाउन यस्ता इनक्युबेशन सेन्टरहरूको भूमिकालाई अत्यन्त आवश्यक रहेको बताए। उनले स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न युवाहरूको नवप्रवर्तनशील सोचलाई संस्थागत गर्न इनक्युबेशन केन्द्रको योगदान महत्वपूर्ण हुने बताए।
यस इनक्युबेशन सेन्टरमार्फत उद्यम सुरु गर्न चाहने नव उद्यमीहरूलाई आवश्यक तालिम, सल्लाह, नेटवर्किङ, सहकार्यको प्लेटफर्म र सुरुवाती चरणमा सहयोग प्रदान गरिने छ। CNIYEF कोशीको नेतृत्वमा स्थापना भएको यो केन्द्रले प्रदेशभरिका युवा उद्यमीहरूलाई एकीकृत र सक्षम बनाउने लक्ष्य राखेको छ।
यो केन्द्रले कोशी प्रदेशमा उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।