विराटनगर । इजरायल-इरान युद्धका कारण बंकरमा लुक्दै बस्न बाध्य बनेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बिहीबार नेपाल आउने भएका छन्।
उनी इजरायलबाट जोर्डन हुँदै ओमान र त्यसपछि नेपाल आउने मेयर कोइरालाका प्रेस संयोजक मीनकुमार श्रेष्ठले जानकारी दिए।
परराष्ट्र मन्त्रालयका अनुसार मेयर कोइराला नेपाली समय अनुसार आज(मंगलबार) बिहान इजराइलबाट जोर्डन पुगिसकेको जनाइएको छ । आज बिहान उनी इसरायलको सेफाइमबाट जोर्डनतिर गएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
मेयर कोइराला कृषिकर्म र सहकारी अभ्यास बारे बुझ्नका लागि आयोजित भ्रमणमा जेठ २६ गते इजरायल पुगेका थिए । उनी त्यहाँ पुगेपछि इजरायल र इरानबीच युद्ध सुरु भएको थियो । केहिदिन उनी बंकरमा बसेका थिए ।
मेयर कोइराला जोर्डनबाट कुवेत जाने र कुवेतबाट भारतको मुम्बई हुँदै बिहीबारसम्म नेपाल आउने प्रेस संयोजक श्रेष्ठले जनाकारी दिए।
भ्रमणकै बिचमा इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले थालेको प्रत्याक्रमणका कारण मेयर कोइरालासहित फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि बंकरमा बस्न बाध्य भएका थिए ।
इजरायलमा करिब ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली रहेको र उनीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
फोटो:फाइल