इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनमा पुनःप्रतिबन्ध लगाउने बाटो खुलेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निषेध ऐन २०८० अनुसार महानगरले यसको कार्यन्वयन गतवर्ष सुरु गरेको थियो । तर, त्यस विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो ।
तर, उच्च अदालत विराटनगरले उक्त रिट खारेजी गरेर विराटनगर महानगरपालिकाले कार्यन्वयनमा ल्याएको नियन्त्रणमुखी कार्यक्रम अगाडी बढाउन बाटो खोलिदिएको हो । भोला र करेन्ट ब्रान्डमा गुट्खाको उत्पादन गर्दै आएको रूपन्देहीको श्रीराम टोबाकोले विराटनगर महानगरविरूद्ध उत्प्रेषण परमादेशको मुद्दा दायर गरेको थियो। विराटनगर महानगरले २०७९ चैत २८ गते सूचना प्रकाशित गर्दै २०८० साउन १ देखि सुर्तीजन्य गुट्खा र खैनीको बिक्री वितरणमा रोक लगाएको थियो । महानगरले यसका लागि कानुन नै बनाएको थियो तर कानुन कार्यान्वयनमा ल्याउँदा उच्च अदालतमा रिट दायर गरिएको थियो ।
यस अगाडी उच्च अदालत विराटनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध परमादेश जारी गर्दै बिक्री वितरणको बाटो खुल्ला गरिदिएको थियो । महानगरले ऐन नै जारी गरेर बजारमा अनुगमन गर्दै बिक्री भइरहेको चुरोट, गुट्खा, खैनीजस्ता सुर्तीजन्य वस्तु नियन्त्रणमा लिई नष्ट गर्ने कार्य २०८० मंसिरदेखि थालेको थियो । तर, अदालतले परमादेश दिएको यहि मुद्दा अहिले आएर खारेजी गरिदिएपछि अब पुनः कारवाही अगाडी बढाउने बाटो खुलेको छ ।
महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले रिट खारेजीपछि आगामी वर्षको नीति तथा कार्यक्रम असार १० गते ल्याएसँगै विराटनगरमा सुर्तीजन्य वस्तुको खुल्ला बिक्रीमा रोक लगाइने जानकारी दिइन् । उनले शहरी सौन्दर्य र मानव स्वास्थ्यको हितका लागि महानगरपालिकाले कानुन बनाएर कार्यन्वयनमा ल्याएको कार्यबाट पछि हट्नु पर्ने बाध्यता अदालतको परमादेश भएको बताउँदै अब खारेजी भएसँगै निर्णय कार्यन्वयनमा सहज हुने बताइन् ।
महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार, अदालतको पूर्णपाठ प्राप्त भएपछि फेरि अनुगमन प्रक्रिया तीव्र बनाइनेछ । नियम उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुनेछ । उनका अनुसार सुर्तीजन्य पदार्थको सेवनले विराटनगरवासीमा स्वास्थ्य समस्या मात्र होइन, नगरको सरसफाइ र सौन्दर्यमासमेत असर पारिरहेको छ।
महानगरले ‘सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित विराटनगर’ निर्माण अभियानअन्तर्गत सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा निरन्तर निगरानी गर्दै आएको थियो । विद्यालय, स्वास्थ्य संस्था तथा मठमन्दिरदेखि एक सय मिटर वरपर ऐनले स्पष्ट रूपमा सुर्तीजन्य वस्तु निषेध गरेको छ । अब नियम उल्लंघन भएमा महानगरको टोली परिचालित भई सुर्तीजन्य वस्तु जफत गर्ने र कारबाही अघि बढाउने जनाइएको छ । महानगरले सबै व्यवसायी र नागरिकलाई ऐनको पालना गर्न आग्रह गर्दै, सहकार्य नगर्नेहरूसँग अब कडाइका गरीने बताएको छ ।