इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा वडा डुबानको संभावित क्षेत्रमा पर्दछन् । महानगरपालिकाको ९ नम्बर वडा बाहेक बाँकीमा डुवानको सम्भावना वर्षेनी दोहोरिने गरेको हो । यी वडाका करिब ९ हजार घरधुरी सधैं जोखिममा रहेको तथ्यांक छ ।
प्रत्येक वर्षको जस्तै यसवर्ष पनि वर्षात सुरु हुन लागेको छ । मनसुन भित्रिसकेपनि विराटनगर महानगरपालिकाकामा कम वर्षा भईरहेको छ । महानगरको विपद् व्यवस्थापन शाखाकी प्रतिमा पोखरेलका अनुसार १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ नम्बर वडाहरु विशेष रुपमा संकटग्रस्त क्षेत्रका रूपमा चिनिएका छन् । यसको कारण यी वडाहरु हुँदै सिंघीया र केशलिया बग्ने गर्दछ । शहरको केन्द्रभाग कोशी राजमार्ग पश्चिम केशलियाको बाढी र पूर्वतर्फको सिंघीयामा बाढी आउँदा वस्तीमा पस्ने गरेको छ । यसैले यी वडाहरु संकटग्रस्तमा रहेका छन् ।
त्यस बाहेक ३, ९, १०, १३, १५ र १७ नम्बर वडा डुबानबाट प्रताडित हुने कम जोखिमका क्षेत्रमा पर्दछ । वर्षेनी ८ हजार ८ सय ९४ घरधुरी डुवानबाट प्रत्यक्ष प्रभावित हुने गरेको तथ्यांक महानगरसँग छ । डुवानको संकटलाई ध्यानमा राख्दै महानगरले पुष्पलाल चौकमा आपतकालीन व्यवस्थापन कार्यालय स्थापना गरेको छ । उद्धारका लागि आवश्यक सामग्रीहरु थप खरिद गरिसकेको जनाएको छ ।
वर्षातको बेला डुवानपीडितहरुलाई तत्काल राहत पुर्याउन महानगरले सार्वजनिक भवनहरुलाई आश्रयस्थलको रूपमा तोकेको छ । यस्तै, राहत सामग्री पनि आवश्यक परेको समयमा मात्र तत्काल खरिद गर्ने योजना बनाइएको पोखरेलले बताइन् । उनका अनुसार, पहिले नै खरिद गर्दा सामग्री बिग्रने सम्भावना भएकाले माग अनुसार खरिद गरिनेछ ।
डुवानको मुख्य कारण भनेकै विराटनगरमा उचित पानी निकास प्रणालीको अभाव हो । महानगरले पूर्वाधार निर्माण कार्य अगाडि बढाइरहेको भए पनि हालसम्म यो समस्या समाधान हुन सकेको छैन । खासगरी खोलानजिकका बस्तीहरूमा बाढी पस्ने, र अन्य क्षेत्रहरूमा वर्षातको पानी जमेर घरभित्र पस्ने समस्या आम देखिन्छ । सडक र नालामा जम्मा भएको फोहोर पानी घरभित्र पस्दा दुर्गन्ध र किराकिराको डरसमेत स्थानीयले ब्यहोर्नुपरेको छ ।