विराटनगर, असार ६
नेपाल युवा उद्यमी मञ्च विराटनगर र विराटनगर ५ स्थित विराटनगर इन्टरनेसनल कलेजबीच आज एक औपचारिक कार्यक्रमका बीच सम्झौता भएको छ।
कलेज परिसरमै सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष सञ्जिव सिग्देल र कलेजका प्रमुख कार्यकारी अधिकृत सचितमान शेरचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार कलेजका विद्यार्थीलाई उद्यमशील बनाउने उद्देश्यसहित विभिन्न तालिम, कार्यशाला र कार्यक्रमहरूमा सहकार्य गरिनेछ। सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी शेरचनले यो विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसर भएको बताएका छन्।
सम्झौता अनुसार कलेजका विद्यार्थीलाई उद्यमशीलता, नेतृत्व विकास, नवप्रवर्तन, र व्यवसायिक सोचमा अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यशाला, गोष्ठी, तालिम, अन्तरक्रिया तथा अन्य कार्यक्रमहरू संयुक्त रुपमा सञ्चालन गरिनेछ।
मञ्चका अध्यक्ष सिग्देलले युवाहरूलाई उद्यमशीलता तर्फ आकर्षित गराउने र व्यावसायिक सोच विकास गराउने लक्ष्य अनुसार कलेजसँग सहकार्य सुरु गरिएको बताए। सम्झौताअनुसार चाँडै विभिन्न गतिविधि सञ्चालन गरिने पनि जानकारी दिइएको छ।