विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ निवासी ८९ वर्षीया तिलमाया खड्का गत जेठ २४ गते घरबाट निस्केर हिँडेपछि घर फर्किनन् । बृद्धावस्थाका कारण मानसिक रुपमा कमजोर खड्का घर नफर्केपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिए ।
खोजतलासको क्रममा जेठ २५ गत ग्रामथान–६ रामजानकी मन्दिर नजिकै एउटा छाप्रोमा उनले लगाएको कपडा झुण्ड्याइएको अवस्थामा फेला प¥यो । जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कोपिला चुँडालका अनुसार छाप्रोमा खड्काले लगाएको कपडा झुण्डिरहेको अवस्थामा उनकै बुहारीले देखेकी थिइन् । कपडा देखेपछि गहना समेत लगाएको सुनाइन् । प्रहरीले उक्त छाप्रो प्रयोग गर्दै आएकी सीता ऋषीदेवसँग सोधखोज गरेको थियो । सोधखोजमा उनले भिजेर आएकोले आफूले कपडा फेरिदिएको सुनाइन् ।
अघिल्लो दिनदेखि हराएकी बृद्धा पानीले भिजेर आएको अनि कपडा फेरिदिएपछि गएको प्रहरीसँग ऋषीदेवले बताइन् । त्यसपछि ऋषीदेवको घरमा खान तलासी गर्दा माटोमा पुरेको अवस्थामा गहना भेटिए । प्रहरी नायव उपरीक्षक चुँडालका अनुसार घर भित्र प्रहरीले हेर्दा केहि आलो माटो जस्तो देखियो । अनि खनेर हेर्दा खड्काले लगाएको सुनका गनहना त्यहाँ भेटियो ।
आफ्नो आमाको गहना बुहारीले चिनेपछि ऋषीदेवलाई प्रहरीले नियन्त्रणमा लियो । ऋषीदेवले देखाएकै अनुसार ८९ वर्षीया खड्का नहरमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी थिइन् । हराएकी बृद्धाको खोजतलास गर्ने क्रममा अपराधको घटनामा रुपान्तरण भएको थियो ।
यो घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय हरैंचाका, प्रहरी नायव निरीक्षक निरबहादुर खड्का संलग्न रहेका थिए । अनुसन्धानमा सफल भएका उनलाई कोशी प्रदेश प्रहरी कार्यालयले जेठ महिनाको उत्कृष्ट प्रहरी समेत घोषणा गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार खड्काले जेठ महिनाभर तीनवटा अपराधका घटना अनुसन्धानमा सफलता पाएका हुन् । जसमध्ये ८९ वर्षीया खड्काको गहना लुटपाट तथा हत्या आशंका, ३४७ किलो गाँजा बरामद र कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद फैसला भएका फरार प्रतिवादी पक्राउ गर्न सफल छन् ।
खड्काले जेठ २० गते ग्रामथान–७ मा टाटा सुमो गाडीबाट गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएका थिए । यसैगरी फैसला कार्यन्वयन अन्तर्गत कर्तव्य ज्यान कसुरका फरारसहित १४ जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । १४ जना फरार प्रतिवादी पक्राउ गर्दा २० लाख ८२ हजार ८०० जरिवाना असुल भएको उल्लेख गरिएको छ ।