विराटनगर । विराटनगरमा चौथो संस्करणको एसईई कप अन्तरविद्यालय स्तरीय रनिङशील फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर १ पोखरीया खेल मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा सुनसरीको सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मोरङको जेभियर्स बोर्डिङ स्कुललाई ३–० गोलले हराउँदै सहिद स्मृति स्कुल विजयी बनेको हो ।

जितका लागि सहिद स्कुलका तर्फबाट साहिल गिरी, नितेश अधिकारी र संगम दर्जीले समान १–१ गोल गरे। खेलको प्लेयर अफ द म्याच संगम दर्जी घोषित भए।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरलाई एक थान स्पोर्ट साइकल प्रदान गरिने प्रतियोगिताको संयोजक बिक्की कार्कीले जानकारी दिए ।
स्वास्थ्य शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले प्रतियोगितामा भाग लिने उत्कृष्ट खेलाडीमध्ये कोही स्वास्थ्य शिक्षा अध्ययन गर्न इच्छुक भएमा १२ लाख रुपैयाँ बराबरको छात्रवृत्र् िउपलब्ध गराउने भएको छ। यो प्रतियोगिता विराटनगर वडा नम्बर १ कार्यालय र विराटनगर महानगरपालिकाको सह आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा भएको हो।

प्रतियोगिताको उद्घाटन युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले गरे। कार्यक्रममा विराट मेडिकल कलेजका सीईओ डाक्टर निकिता कार्की, विराट गोल्डकप ट्रस्टका पूर्व अध्यक्ष सन्तोष बानियाँलगायतको उपस्थिति रहेको थियो।