विराटनगर असार १०, मस्तिष्क पक्षघात पीडित बालबालिकाहरूका लागि विराटनगरमा विशेष अस्पताल निर्माण गरिएको छ। मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया र उनका भाइ उद्योगी राजेश बगडियाले आफ्नी स्व.दिदि रोटरियन सविता अग्रवालको स्मृतिमा उक्त अस्पताल निर्माण गराएका हुन्।
विराटनगर महानगरपालिका–४ स्थित रिङ रोडमा निर्माण गरिएको अस्पतालको नाम रोटरियन सविता अग्रवाल चिल्डेन्स न्यूरोलोजिकल रिह्याबिलिटेसन सेन्टर राखिएको छ। कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सोमबार एक भव्य समारोहबीच अस्पतालको उद्घाटन गरे।
८ वर्षअघि भारतमा भएको एक सडक दुर्घटनामा सविता अग्रवालको निधन भएको थियो। निधनअघि उनले रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पूर्व अध्यक्ष अर्चना शर्मासँग मस्तिष्क पक्षघात पीडित बालबालिकाका लागि अस्पताल निर्माण गर्ने चाहना व्यक्त गरेकी थिइन्।
बगडिया परिवारले अस्पताल निर्माणका लागि ४ कठ्ठा जग्गा निःशुल्क प्रदान गरे। साथै, निर्माणमा आवश्यक ईट्टा पनि आनन्द ईट्टा उद्योगमार्फत निःशुल्क उपलब्ध गराइएको थियो, जसका सञ्चालक स्व. सविता अग्रवालका श्रीमान् अशोक अग्रवाल हुन्।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष मञ्जु अग्रवालको नेतृत्वमा क्लबले अस्पताल निर्माणको सम्पूर्ण प्रक्रिया सम्पन्न गरेको हो। अस्पतालको सञ्चालन तथा सेवाहरूको व्यवस्थापन पनि क्लबले नै गर्नेछ।
डा. ममता बर्माका अनुसार अस्पतालमार्फत मस्तिष्क पक्षघात बालबालिकाका लागि फिजियोथेरापी लगायत आवश्यक सबै प्रकारका पुनःस्थापना सेवाहरू प्रदान गरिनेछ।