विराटनगर । विराटनगरमा माहेश्वरी महिला मञ्चले दुई दिने श्रावण मेला आयोजना गरेको छ ।
विराटनगरस्थित अतिथि सदनमा आज(शुक्रबार) विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मेलाको उद्घाटन गरेका हुन् ।

माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुले मेलामा ३२ स्टल रहेको जानकारी दिएकी छिन् । उनले शुक्रबार र शनिबार मेला अवलोकनका लागि सबैसँग अनुरोध समेत गरिन् । मेलामा कुर्ता सलवार, साडी, कपडा, गहना, कस्मेटिकका सामान राखिएका छन् । यसैगरी श्रावणका लागि आवश्यक श्रृङ्गारका सामानका स्टल समेत रहेका छन् ।
उद्घाटनमा माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका निवर्तमान केन्द्रीय अध्यक्ष रचना राठी, अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका उपाध्यक्ष गिरिजा सारडा र माहेश्वरी महिला मञ्च विराटनगरका निवर्तमान अध्यक्ष पुनम राठी अतिथिको रूपमा सहभागी भएका थिए ।
