विराटनगर । सरकारले २ प्रतिशत विलासिता कर लगाएको विरुद्धमा आज(शुक्रबार)देखि विराटनगरका सुन व्यवसायीले अनिश्चितकालका लागि सुन पसल बन्द गराएका छन् ।
नेपाल सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरेको बजेट मार्फत सुनको हरेक खरिद बिक्रीमा २ प्रतिशत बिलासीता कर र १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट) लागु गरेपछि सुन व्यवसायी आन्दोलित बन्दै आएका छन् ।
सरकारले सुन आयातमा १० प्रतिशत भन्सार शुल्क लिई रहेका छन् । यस अघि पटक पटक सुन पसल बन्द गरेर खुल्ला गर्दै आइरहेका नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङले शुक्रबारदेखि अनिश्चित कालका लागि सुन पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायी पसल बन्ल गरेर सरकारको गलत कर नीतिका विरुद्ध विराटनगरमा प्रदर्शन गरेका छन् । व्यवसायीले विराटनगर– ठाकुरबाडी रोडस्थित नेपाल सुन–चाँदी व्यवसायी संघको कार्यालयबाट निकालिएको र्याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि बुधहाट चौकमा विरोध सभा गरेका थिए।
विरोध सभामा नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका अध्यक्ष शशिभुषण साह र शोभा प्याकुरेलले सरकारको गलत कर नीति खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिका प्रदेश सदस्य महेशकुमार साह स्वर्णकार, नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका सल्लाहकार किशन तोदी, जुगल किशोर राठी, संघका महासचिव कमलेश अग्रवाल लगायत विराटनगरका सम्पुर्ण सुनचाँदी व्यवसायीहरु सहभागिता रहेको थियो ।