विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले किसान पहिलो भन्ने अभियानका साथ कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् ।
राष्ट्रिय धान दिवसको अवसर तथा आवर विराटनगर डट नेटको १४ औं वार्षिक उत्सवको सन्दर्भ पारेर आयोजना गरिएको रोपाँई कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस महत्त्वपूर्ण रहेको बताएका हुन् ।
उनले ओबी मिडियाको वार्षिक उत्सवको अवसरमा रोपाँई कार्यक्रम आयोजना गरेकोप्रति आभार व्यक्त गरेका थिए । मुख्यमन्त्री कार्कीले विराटनगरमा रहेर डिजिटल मिडियामार्फत शक्तिशाली र प्रभावकारी पत्रकारिता गरिरहेको ओबी परिवारलाई बधाई ज्ञापन गरेका थिए । उनले समाजमा भएका सानासाना विषयलाई समेत उठान गरेर फरक शैलीको सञ्चारमाध्यमको छवी बनाएको मिडिया भएको भन्दै प्रशंसा गरेका थिए ।