विराटनगर । विराटनगरमा प्रहरीको नाममा रकम उठाउनेदेखि लुटपाट गर्नेसम्मका घटना दोहोरिन थालेका छन् । असारमा मात्रै प्रहरी हुँ भन्दै अपाङ्गता भएका व्यक्तिसँग पैसा उठाएको घटनाको अनुसन्धान नसकिदै व्यक्ति नियन्त्रणमा लिएर लुटपाट गरेको अर्को घटना सोमबार प्रहरीले सार्वजानिक गरेको हो ।
मोरङ प्रहरीका अनुसार असार ११ गते बिहान ११ः१५ बजे विराटनगर–१५ का २० वर्षीय बिक्रम साह तेलीलाई नियन्त्रणमा लिएर उनको साथबाट तीनलाख ६४ हजार लुटिएको घटनामा संलग्न आरोपी दुईजनालाई आइतबार पक्राउ गरिएको हो । बैंकमा जम्मा गर्न भनेर पैसा बोकेर सिटीमा सवार साहलाई विराटनगर–१३ स्थित राईस मिल नजिक पुग्दा स्कुटरमा सवार तीनजनाले रोकेर चेकजाँच गरेका थिए । त्यसपछि उनीहरुले प्रहरी भएकोले केहि अनुसन्धान गर्नुपर्ने भन्दै विराटनगर १४ स्थित जतुवाको एकान्त स्थलमा लगेर उनको रकम लिएर फरार भएका थिए ।
पीडित साहले घटनापछि प्रहरीमा निवेदन दिएर खोजतलासका लागि अनुरोध गरेका थिए । प्रहरीले असार १५ गते आइतबार साहलाई नियन्त्रणमा लिएर जतुवासम्म पु¥याएको को १४ प ३३३० नम्बरको रातो स्कुटरसहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर ८ का समिर हुसेन र विराटनगर ६ का आशिफ अन्सारी रहेका छन् । उनीहरु विरुद्ध शरिर बन्धक बनाई डाका गरेको कसुर मुद्धामा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
केहिदिन अगाडी जोगबनीबाट सामान लिएर विराटनगर फर्कने अपाङगता भएका व्यक्तिहरुसँग प्रहरीको नाममा पैसा असुल्ने आरोपमा विराटनगर १२ का २५ वर्षीय धन कुमार थारु पक्राउ परेका थिए । उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरेको छ ।