विराटनगर । विराटनगरमा मिटर व्याजका नाईके मानिएका कुख्यात मिटरब्याजी मन्टु भनिने सञ्जय प्रसाद रौनियारले आम सर्वसाधारणलाई झुटो तमसुक बनाएर आतक मचाउने गरेको पाइएको छ । मिटर व्याज कै कारण झन्डै १६ महिना जेल बसेर निस्किएपछि एक दर्जन बढी आम सर्वसाधरणलाई झुटा तमसुक बनाउदै अदालत सम्म पुर्याउने गरेको पाइएको छ । मन्टुबाट पिडित भएका १७ जना बढी मिटर व्याजी पिडितहरुले विराटनगरमा मंगलबार भेला भई पत्रकार सम्मेलन गरेर आफुहरुलाई दुख दिन थालेको बताएका छन् ।
‘मिटरब्याज’को नाममा आर्थिक विपन्न, अशिक्षित र कमजोर वर्गका मानिसलाई आर्थिक र मानसिक रूपले पीडा दिने मन्टुको शृंखला जेल बाहिर आएपछि झन् भयावह बन्दै गएको खुलेको छ ।
विराटनगर ७ की मन्जु शाक्यले मन्टुबाट १७ लाख लिएको तर अहिले व्याजको स्याज ,स्याजको व्याज गरेर १ करोड ५ मन्टुलाई दिईसकेको बताईन् । २०७६ सालदेखी पटक पटक गरेर तिर्दै आए , शाक्यले भनिन्, ‘फेरी पैसा नपुगेर मैले घर बेचे । अघिल्लो बर्ष २०८१ साउन सम्म १ करोड ५ लाख तिरिसके तर पनि मेरो अन्य जग्गाहरु रोक्का गरेको छ ।’
मन्टुले विराटनगर–२ की ५२ वर्षीया मन्जु शर्माविरुद्ध १३ फागुन २०८१ मा मोरङ जिल्ला अदालतमा ‘लेनदेन’ सम्बन्धी मुद्दा दायर गरेका थिए । उनीमाथि २ लाख रुपैयाँको साँवा र ब्याजसहित ३ लाख ९९ हजार रुपैयाँ भुक्तान गर्नुपर्ने मन्टुको दाबी छ । पीडित मन्जुको भनाइ अनुसार मन्टुसँग २०७१ साल फागुन २५ गते ५० हजार रुपैयाँ मात्र लिएकी थिइन् । तर मन्टुले २ लाख रुपैयाँको कपाली तमसुक बनाएका थिए ।
चार वर्षभित्रै मन्जुले कर्जा चुक्ता गर्न ३ लाख ५० हजार रुपैयाँ भुक्तान गरिन् । त्यसबेला उनले विराटनगर २ मा रहेको ११ धुर जग्गासमेत विक्री गरिन् । ऋण फर्सिएपछि मन्टुसँग तमसुक फिर्ता माग्दा उनले बहाना गरिरहे । केही समयपछि मन्टु ठगी र अपराधिक लाभको अभियोगमा जेल गएपछि मन्जु जेलसम्म पुगेर पनि तमसुक मागिन्, तर उनको मागलाई बेवास्ता गरियो ।
मन्जुले अदालतमा दायर भएको फिराद पत्र देखाउँदै भनिन् । अहिले उनी श्रीमान र दुई नातिनीसहित भाडाको घरमा बस्दैछिन् । अदालतको तारेखमा धाउनु उनको बाध्यता बनिसकेको छ ।
मन्टुबाट पीडित भएकाहरूका अनुसार जेलबाट छुटेपछि झन् बढी आतंक मच्चाउन थालेको पत्रकार सम्मेलनमा बताएका छन् ।
त्यस्तै मोरङको धनपाल थानका गणेश रायको लेनदेनको २०७७ सालमा नै मिलिकेको थियो तर अहिले २०८२ सालमा आएर फेरी ३२ लाख पैसा दिनुपर्ने भन्दै धम्काउने गरेको बताएका छन् । रायका अनुसार जिल्ला प्रहरी कार्यालयबाट राती १० बजेपछि म प्रहरी हो भन्दै धम्काउने गरेका छन् ।
यता मन्टुविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी पनि दिईसकेका छन् । उजुरी दिनेहरुमा म. एकलाख मिया, गुल्जार मियाँ, दिलिपक कुमार मण्डल, संगीता कामत, सावित्रा प्रसाई, बेबी खातुन, रोसनी खातुन, मिना शाक्या, मञ्जु शर्मा, गणेश राय, गोपाल राउत, राजेन्द्र चौधरी, अमित यादव, खगेन्द्र कुमार केवरत, साजिद मियाँ, परमेश्वर कामत, दिपक कुमार रायलगायत छन् ।
त्यस्तै अर्का विराटनगर ५ चादनी चौकका ३७ बर्षिया गोपाल राउतले पनि २०७६ सालमा व्यावसायी गर्नको लागि १० लाख रुपैया लिएका थिए । तर मैले ३ महिनापछि ५ लाख फिर्ता गरे , राउतले भने, ‘मैले ५ लाखको बालुवा गिटी झारिदिए, हाम्रोसबै हिसाव किताब मिलिसकेको थियो । फेरी अहिले घरमा भारतिय नम्बरको मोटरसाईकलमा नचिनेको मानिसहरु पठाएर मन्टुको पैसा तिरिनस भने बाच्दैनस भन्ने जस्ता शब्दहरु प्रयोग गरेर धम्काउने गरेकाछन् ।’
मन्टु जेलबाट निस्कीसकेका छन् । बाहिर आएपछि अहिले आतंक फेरि सुरु भएकोले हामीले सामुहिक रुपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको सुनवर्षी नगरपालिका–४ का अमित यादवले बताए । ‘जेलबाट छुटेपछि आएर हामीले फिर्ता पाएको जग्गाको पैसा माग्न थाले । हुलाकमार्फत धम्कीपूर्ण चिठी पठाउने गरेको पिडितले सुनाए ।
२०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुविरुद्ध दायर भएको ठगी र अपराधिक लाभ मुद्दाबाट सफाइ पाएपछि चिठी पठाएर पैसा माग्ने गरेको सर्वसाधारणको भनाइ छ । पीडितहरूका अनुसार, उनीहरूले पहिल्यै मन्टुलाई साँवा र ब्याज गरी बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए । तर अब फेरि मन्टुले अझै पैसा तिर्नु बाँकी छ’ भन्दै पत्र पठाएर त्रास फैलाइरहेको उनीहरूको गुनासो छ । मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र अपराधिक लाभ मुद्दामा जाहेरी दिएपछि २०७७ मंसिर २९ गते पक्राउ परेका थिए । १३ माघ २०७७ मा मन्टु मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।
मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा ‘ठगी’ र अपराधिक लाभ लिएको मोरङ प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो ।
२०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजलासले मन्टुलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिए । त्यसपछि उनी मोरङ कारागार चलान भए ।
कारागार गएपछि फैसला हुनुभन्दा अगाडी बकपत्र भयो । त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधारणको जग्गा फिर्ता गरिदिने कबुल गरे । त्यसबेला निवेदकहरू र मन्टुबीच जग्गा फिर्ता गरिदिने छलफल भयो । मन्टुले सहमतिको पत्रमा हस्ताक्षरको लागि श्रीमती ज्योती रौनियारलाई अख्तियारी दिएका थिए ।
सोही सहमति अनुसार १७ जना पीडितको जग्गा फिर्ता भयो । २०७९ जेठ ९ सफाइ पाएर मन्टु जेलमुक्त भए ।
जेलबाट सफाइ पाएर छुटेको दुई वर्षपछि फिर्ता गरेको जग्गाको पैसा दिनुपर्ने भन्दै १७ जना मध्ये ११ जनालाई पत्र पठाउँदै पैसा माग्ने गरेका हुन् ।
मन्टुले भने आफूले बिक्री गरेको जग्गाको पैसा मागेको बताउने गरेका छन् । सर्वसाधारणलाई मुद्दा लगाएको विषयमा मन्टुसँग बारम्बार सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।