विराटनगर, असार १८ विराटनगर स्थित श्री सत्यनारायण माध्यमिक विद्यालयले सामुदायिक विद्यालयको सूचीमा आफूलाई बेग्लै पहिचान बनाउँदै आएको छ। आधुनिक शैक्षिक संरचना, दक्ष जनशक्ति, तथा वालमैत्री नीति अपनाउँदै आएको विद्यालयले शैक्षिक गुणस्तरमा निरन्तर सुधार ल्याउँदै आएको छ।
विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कानुन, व्यवस्थापन, शिक्षा तथा इलेक्ट्रिकल इन्जिनियरिङ विषयहरू पठनपाठन हुँदै आएको छ। नेपाली र अङ्ग्रेजी दुवै माध्यममा छुट्टाछुट्टै कक्षाहरू सञ्चालन हुँदै आएको र यसले विद्यार्थीलाई रुचिअनुसारको माध्यम छान्न सजिलो बनाएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुरागाईले जानकारी दिएका छन् ।
विद्यालयमा प्रविधिमैत्री स्मार्ट कक्षा, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, समृद्ध पुस्तकालय, र डिजिटल बोर्डमार्फत शिक्षण विधि लागू गरिएको छ। अनुभवी र दक्ष शिक्षकद्वारा शिक्षण गरिने यस विद्यालयमा शैक्षिक वातावरण निकै सकारात्मक रहेको पाइन्छ।

शैक्षिक उत्कृष्टतामा प्रोत्साहनस्वरूप विद्यालयले एसईईमा ३.८ देखि ४.० जीपीए ल्याएका विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति र ३.६ देखि ३.७८ जीपीए ल्याउने विद्यार्थीहरूलाई ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।
न्यून शुल्कमा गुणस्तरीय र व्यवहारिक शिक्षा दिने उद्देश्यसहित विद्यालयले गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्ति योजना सञ्चालन गर्दै आएको छ। साथै, सीसी क्यामेरा निगरानी, प्रमुख विषयका अतिरिक्त कक्षा (कोचिङ), र यातायात सेवासमेत विद्यालयले उपलब्ध गराउँदै आएको छ।