विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ मा रहेको श्री हस्पिटलले लामो समयदेखी घर वहालको भुक्तानी नदिएपछि घर धनीेले हस्पिटलमा ताला लगाएका छन् । घरधनी सुष्मा सिंहले अस्पताल संचालक सुनिल कुमार यादवलाई पटक पटक घर वहालको भाडा भुक्तानी माग्दा नदिएपछि वाध्य भएर शुक्रबार ताला लगाएका हुन् ।

मासिक २ लाख २५ हजार तिर्ने सर्तमा २०७८ सालदेखी श्री हस्पिटल संचालनमा आएको छ । घरधनीले पटक पटक घरभाडा माग्दा पनि नदिएपछि विराटनगर महानगरपालीकाको न्यायिक समितिमा समेत उजुरी परेको थियो । घर धनि सुष्मा सिंहले पाउनुपर्ने भाडा नबुझाएपछि १० महिनायता विवाद सिर्जना हुँदै आएको छ ।
हस्पिटलले घरधनीलाई विचमा चेक पनि दिएको थियो । तर बैंकमा पैसा नभएपछि चेक बाउन्समा सञ्चालक सुनिल यादवलाई प्रहरीले पक्राउ समेत गरेको थियो । बैंकिङ कसुर आरोपमा यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले असार १ गते पक्राउ गरेको थियो ।

हस्पिटलले सिंहलाई घर वहाल सम्झौता अनुसारको १० लाख र अर्का अशोक यादवको १३ लाखको चेक बाउन्स भएको आरोप यादवलाई प्रहरीले पक्राउ गरेको थियो । सिंह घरधनी हुन् भने अशोक यादव सुनिलसँग यस अगाडीका साझेदार थिए । यादवले २०७८ सालदेखिको भाडा बुझाउन आनाकानी गर्दै आएका थिए ।
प्रहरीले पक्राउ गरेपछि यादवले १५ लाख सिंहलाई दिईसकेपछि यादव केहीदिन अघि छुटेका थिए । सुष्मा सिंहका अनुसार पछिल्लो ५ महिनादेखीको भाडा ९ लाख नदिएपछि आज ताला लगाएको छौँ।

यो घर रामप्रसाद मेहताको थियो । उनीसँग अस्पताल चौकका औषधी व्यवसायी राजेश अग्रवालले श्री अस्पताल सञ्चालन गर्न घरभाडामा लिइएका थिए । दशवर्षसम्म अग्रवालहरुले भाडामा लिएर अस्पताल चलाए, पछि बन्द भएको थियो । मेहताको निधन भएपछि यो घर सुषमा सिंहको नाम छ । उनीसँग यादवले भाडामा लिइएको घरको वहाल सम्झौता २०८० सालमा नविकरण भएको थियो । तर, वहाल नविकरण गरेपनि उनले सम्झौताको पालना नगरेको सुष्माको आरोप छ । उनले दश महिना अगाडी भाडा वापतको रकम उल्लेख भएका चेक दिएका थिए । मासिक भुक्तानी हुने गरि दिएका १० लाख बराबरको चेक नै बाउन्स भएको थियो । यादवले सिंहसँग वहाल सम्झौता गरेर अर्का सुनिल रायलाई घर भाडामा दिएपछि विवाद झन् चर्केको थियो ।

सिंहसँग नजिक भएर काम गर्दै आएका लक्ष्मण साहका अनुसार रायले केहि महिना भाडा दिएपछि यादवले रोकेका थिए । वहाल सम्झौता आफैं गरेका यादव विरुद्ध घरधनी सिंहले न्यायिक समिति विराटनगरमा उजुरी दिएकी थिइन् । न्यायिक समितिले यादव विरुद्ध फैसला गरेको थियो । विराटनगर महानगरपालीकाले अस्पतालमा घर खाली गराउनु भनेर बिहीबार हस्पिटलमा सुचना नै टास गरेको थियो ।

महानगरको पनि कुरा अटेर गरेपछि घरधनी सुष्माले वाध्य भएर शुक्रबार ताला लगाएका हुन् ।
यता हस्पिटल प्रशासनले भने घर धनी सुष्मा सिंहले १ लाख १८ हजार तिर्नुपर्ने बताएको छ । हस्पिटलले शुक्रबार साँझ विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी हस्पिटल मर्मत तथा सम्भार गर्दा लागेको खर्च भाडा भन्दा धेरै भएको हस्पिटललको संचालक राकेश रोशन यादवले बताए । हस्पिटलकोे विवाद भन्दा पनि परिवारिक विवाद भएका कारण आफुहरुको बदनाम गराउन खोजेको संचालक यादवले आरोप लगाए ।
