विराटनगर । देखिएको तस्वीर कोशी राजमार्ग अन्तर्गतको छ लेन जोगवनी–विराटनगर सडक खण्डको मनोरम दृष्य हो । अहिले उक्त स्थानमा महागरले विभिन्न बैकिङ्ग वित्तिय सस्थाहरुसँगको समन्वयमा विभिन्न प्रकारका विरुवाहरु रोपिएका छन् ।
विराटनगरदेखि जोगवनी सम्मको सडकका विच भागका डिभाईडरमा लगाइएको विरुवाहरुले गर्दा सडकको रूप रङ नै बदलिदिएको छ । सवारीसाधनको चाप र धूलो–धुवाँले ओथारो परेको यो बाटो अहिले हरियाली र सुन्दरता बोकेको आकर्षक मार्गको रूपमा चिनिन थालेको छ ।
विराटनगर महानगरपालिका , प्रदेश सरकार र विराटनगरको हरित नगर अभियानकर्मीहरुले विभिन्न स्थानमा विरुवा रोपिएको र ती वृक्षहरू अहिले हरियालीका रुपमा बढ्दै गएको दृश्यले यात्रुहरूलाई तानिरहेको छ । सडक डिभाइडर र छेउछाउमा रोपिएका फूलदार र छायादार बिरुवाहरूले अब यस मार्गमा यात्रा गर्नैपर्ने एउटा छुट्टै अनुभूति दिने गरेको छ ।
सडक किनारमा झ्यालबाट देखिने हरियो दृश्यले यात्रुहरूको मन पनि प्रसन्न पार्ने गरेको छ। अहिलेको अवस्थामा यो सडक न केवल आवागमनको मार्ग रहन गएको छ, बरु यसले पर्यावरणमैत्री विकासको संकेतसमेत दिन थालेको छ ।
यस्तो अभियानले नगरको सौन्दर्य मात्रै बढाउने होइन, धूलो नियन्त्रण, तापक्रम न्यून गर्ने र वातावरण संरक्षणमा समेत टेवा पुर्याउने विज्ञहरू बताउँछन् । विराटनगर महानगरपालीकाले हरियाली अभियानलाई निरन्तरता दिइने जनाएको छ । विराटनगर–जोगवनी सडक अब सीमावर्ती व्यापारिक नाका मात्र नभई पर्यावरणीय सौन्दर्यताको नमूना बन्दै गएको छ । तर सडकका विच भागमा विभिन्न संघ सस्था तथा हस्पिटलहरुका विज्ञापनवाला व्यानरले भने सौन्दर्यता भने कुरुप देखिदै गएको छ । सुन्दर अनि हरियाली देखिएको विच सडकका विरुवाहरु नजिकै च्यातिएका होडिङ्ग बोर्ड तथा व्यानरहरुले गर्दा जुन रुपमा देखिनुपर्ने सौन्दर्यता त्यो भने देखिएको छैन उदाहरणको लागि देखिएको तस्वीरले स्पष्ट बोलिरहेको छ ।
तस्वीर कैद : प्रेम देवान /आवर विराटनगर