विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि भ्रष्टाचार र अनियमितताको गम्भीर आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले उनको राजीनामा माग गरेको छ ।
मन्त्री मण्डलको सचिवालयमार्फत ‘क्युआर आतङ्क’ मच्चाएर कर्मचारीहरूसँग रकम असुली गरिएको र रकम नदिनेलाई सरुवाको धम्की दिइएको माओवादी केन्द्रले आरोप लगाएको हो। सामेबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद राजन किरातीले मन्त्री मण्डलको सचिवालयमा रहेका अमृत मेहता नामका व्यक्ति ‘अनधिकृत सचिव’ का रूपमा कार्यरत रहेको र उनकै नाममा रहेको क्युआर कोडबाट कर्मचारीहरूसँग रकम सङ्कलन भइरहेको सार्वजनिक भएको बताएका छन् ।
किरातीले यो विषय अत्यन्त गम्भीर भएकाले सरकारले तत्काल छानबिन गरी सत्यतथ्य सदनलाई जानकारी गराउन सभामुखमार्फत माग गरेका छन् ।