विराटनगर । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा दोस्रो दिन पनि आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका छन् । स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान कोशी अस्पतालको ओपीडी सेवामा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि अलपत्र परेका छन् ।

नेपाल चिकित्सक संघ कोशी प्रदेशले कोशी अस्पतालको ओपीडी सेवाको भवनमा टिकट काउन्टर बन्द गरेको भनेर टाँसेको सूचना पढ्दै विरामी फर्किन बाध्य छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखी देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दै आएका छन् । कोशी अस्पतालको ओपीडी सेवामा दैनिक एक हजार बढी विरामी आउने गरेको अस्पतालकी मेसु रुना झाले जानकारी दिईन् ।

अस्पतालमा आउने जटिल विरामीका केशहरुलाई आकस्मिक सघन कक्षमा राखेर उपचार गरिएको झाले बताईन् । यता अधिकास विरामीहरुलाई भने डाक्टरहरुले गरेको आन्दोलनबारे थाहा नभएको बताएका छन् । आफु लगायत धेरै टाडाबाट आउने विरामीलाई सास्ती भएको त्यहाँ उपचार गर्न पुगेकी विराटनगर ३ की भीमा न्यौपानेले गुनासो गरिन् ।