ईन्दु साह
विराटनगर । नागरिकताको विवरण अपूर्ण भएको भन्दै राष्ट्रिय परिचयपत्र बनाउन गएका केहि महिलाहरू जिल्ला प्रशासन कार्यालय मोरङबाट निराश बन्न थालेका छन् । विशेषगरी विवाहित महिलाको नागरिकतामा श्रीमानको नाम नहुँदा परिचयपत्र बनाउन आनाकानी गर्ने गरेको पिडित महिलाहरुको गुनासो बढ्न थालेको हो ।
तर जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता विनोद कुमार पोखरेलका अनुसार विवाह दर्ता पेश गरेपछि नागरिकतामा श्रीमानको नाम नभए पनि राष्ट्रिय परिचयपत्र बनाउन कुनै समस्या हुदैन । विवाह भएको पुष्टि गर्न विवाह दर्ता अनिवार्य भए पनि नागरिकताको विवरणमा त्यसको अभावले मात्रै प्रकृयामा अवरुद्ध नहुने उनले बताए । पोखरलले भने,’ “विवाह प्रमाणपत्रमा दुवै जनाको नाम र विवरण उल्लेख हुन्छ । त्यसैले नागरिकतामा श्रीमानको नाम नभए पनि विवाह प्रमाणपत्रको आधारमा परिचयपत्रको प्रकृया सहजै अघि बढ्छ,“ ।
उनका अनुसार बायोमेट्रिक राष्ट्रिय परिचयपत्र बनाउने क्रममा नागरिकताको विवरण स्पष्ट, अद्यावधिक र अन्य प्रमाणसँग मिल्नुपर्ने प्राविधिक आवश्यकता हुन्छ । तर विवाह प्रमाणपत्रले वैवाहिक स्थिति प्रमाणित गर्न सक्ने भएकाले नागरिकताको अद्यावधिक नभए पनि त्यसले अवरोध पैदा गर्दैन।
नेपाल सरकारले हालैका वर्षहरूमा डिजिटल प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ । यस क्रममा फोटो, औंठाछाप, आँखाको नानी स्क्यान जस्ता बायोमेट्रिक विवरण संकलन गरिन्छ । प्रणालीले व्यक्तिगत विवरण मिलाउने क्रममा नागरिकताको विवरण नपुगेमा झन्झट आउन सक्छ । जिल्ला प्रशासन कार्यालय मोरङले सेवा लिने नागरिकहरूलाई आवश्यक प्रमाणपत्रहरू तयार पारेर आउन आग्रह गरेको छ । “विवाह भएको अवस्थामा विवाह दर्ता अनिवार्य रूपमा ल्याउनुहोस, नागरिकतामा नाम नभए पनि प्रक्रिया अघि बढ्छ,“ प्रवक्ता पोखरेलले भने ।’