इन्दु साह
विराटनगर । कोरोनाको जोखिम देखिन थालेपछि विराटनगर महानगरपालिकाले फाइजर खोप अभियान सुरु गरेको छ । महानगरपालिका भित्रका ५५ वर्षमाथिका नागरिक र जोखिममा रहेकाहरुका लागि खोप लगाउने अभियान थालिएको हो ।
तर, निःशुल्क लगाउन पाउने खोप लिने नागरिकको सहभागिता भने न्यून रहेको छ । महानगरपालिकाले ५५ वर्षमाथिका नागरिक र जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै बुधबारदेखि खोप अभियान सुरु गरेको हो। अभियान सुरु भएको पहिलो दिन करिब ३ हजार नागरिकले खोप लगाउने अपेक्षा महानगरपालिकाले गरेको थियो । तर, जम्मा ३ सय जनाले मात्र खोप लगाए । नागरिकको कम उपस्थिति देखिएपछि महानगरले खोप अभियानको समय एक दिन थप गर्दै बुधबार, बिहीबार र शुक्रबार (असार २५,२६ र २७ गते) गरी तीन दिनलाई विस्तार गरेको छ ।
स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवका अनुसार फाइजर प्रभावकारी र सुरक्षित खोप हो। यसबाट डराउनु पर्ने कारण छैन। नकरात्मक भ्रमले नागरिकमा त्रास फैलिएको छ, जुन गलत हो । उनले गर्भवती महिला र गम्भीर रोग भएका व्यक्तिहरूले खोप लगाउनु अघि डाक्टरको सल्लाह लिनुपर्ने बताए । साथै खोपपछिका सामान्य लक्षण ज्वरो आउने, टाउको दुखाइ, वान्ता हुने आदि सामान्य भएको भन्दै चिन्ता नगर्न सुझाव दिएका छन् ।
हालसम्म विराटनगरका विभिन्न वडामा गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तो अवस्थामा पनि नागरिकले खोप नलगाउनु झनै जोखिमपूर्ण बन्नसक्ने डाक्टर यादवको भनाई छ। महानगरपालिकाले खोप अभियान अन्तर्गत विराटनगरका १९ वटै वडाका स्वास्थ्य चौकीहरूमा खोप उपलब्ध गराएको छ । साथै, खोपसम्बन्धी जानकारी लिन इच्छुक व्यक्तिहरूलाई नजिकको स्वास्थ्य चौकी वा महानगर स्वास्थ्य महाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ । अहिलेसम्म विराटनगरका विभिन्न वडामा गरी ५ जनामा कोरोना संक्रमण देखा परेको छ ।