विराटनगर । विराटनगरका छ अस्पतालबाट स्वास्थ्य बीमाको पहिलो सेवाबिन्दुको रुपमा उपचार गराउन पाइने भएको छ । स्वास्थ्य बीमा बोर्डले पहिलो सेवाविन्दुबाट मात्रै बिमितहरूले सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएसँगै मोरङमा सात अस्पतालमा सेवा उपलब्ध हुनेछ । जसमध्ये विराटनगरका छ अस्पताल रहेका छन् ।
विराटनगरमा कोशी अस्पताल, मोरङ सहकारी अस्पताल, नोबेल मेडिकल कलेज, हाम्रो अस्पताल, विराटनगर आँखा अस्पताल र विराट मेडिकल कलेज टिचिङ अस्पताल तथा उर्लाबारीको अनरिको अस्पिटल प्रा.लि.बाट स्वास्थ्य बीमा अन्तर्गतको सेवा पाइने भएको हो ।
आगामी साउन १ गतेदेखि लागु हुने नयाँ व्यवस्थाअनुसार बिमितहरूले बोर्डबाट अनुमतिप्राप्त कुनै पनि सरकारी स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सक्नेछन् ।
यसअघि स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार बिमितले बीमा दर्ता गर्दा नै आफूले सेवा लिने एउटा ‘पहिलो सेवा विन्दु’ तोक्नुपर्ने व्यवस्था थियो । यसले गर्दा बिमितहरू आफ्नो तोकिएको स्थानभन्दा बाहिर रहँदा वा यात्रा गर्दा स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित हुने तथा अनेकौं झन्झट बेहोर्नुपर्ने गुनासो निरन्तर आइरहेको थियो ।
बिमितहरूबाट आएका यिनै गुनासाहरूलाई सम्बोधन गर्दै बीमा प्रक्रियालाई ‘सहज र सरल’ बनाउन बोर्डले यो निर्णय लिएको सूचनामा उल्लेख गरेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार कोशी प्रदेशमा २१ वटा स्वास्थ्य संस्था पहिलो सेवा बिन्दुको रुपमा रहेका छन् । जसमा झापाका धेरै रहेका छन् ।
