विराटनगर, असार २७ , विराटनगरमा हरेक वर्ष झैं यस वर्ष पनि ‘कोरा साइकल यात्रा २०२५’ आयोजना हुने भएको छ। कार्यक्रम साउन १० गते (जुलाई २६) हुने जानकारी कोराका विराटनगर संयोजक युनेश राज श्रेष्ठले दिएका छन्।
उनका अनुसार यस वर्षको साइकल यात्राको सुरुवात उद्योग संगठन मोरङको कार्यालयबाट हुनेछ। सो रुट देवकोटा चोक, शान्ति चोक हुँदै जतुवा, रोडशेष र विराटनगर बजार परिक्रमा गर्दै पुनः उद्योग संगठन मोरङमै सम्पन्न हुनेछ।
सन् २०१९ बाट विराटनगरमा सुरु गरिएको कोरा साइकल जात्राको मुख्य उद्देश्य सामाजिक कार्यका लागि सहयोग जुटाउनु हो। "यस कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिन्छ," संयोजक श्रेष्ठले बताए।
कोरा साइकल जात्रा नेपालभरि विभिन्न स्थानमा आयोजना हुने एक अनौपचारिक साइकल अभियान हो, जसले स्वस्थ जीवनशैली, दिगो परिवहन, र सामाजिक उत्तरदायित्वको सन्देश फैलाउने उद्देश्य राख्दछ।
विगत वर्षहरूमा जस्तै यस वर्ष पनि विराटनगरमा उल्लेख्य संख्यामा सहभागी जुट्ने अपेक्षा गरिएको छ।