विराटनगर । गर्मीमा बढी खपत हुने जारमा चिसो हुने प्रशोधित पीउने पानी उत्पादन गर्न कानुनले स्वीकृत प्रदान गर्दैन । यस्तो पानी भने उद्योगले आफ्नो रिक्समा बजारमा बिक्री वितरण गर्दै आएका छन् । प्रशोधित पीउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्री वितरण गर्ने कुरालाई मान्यता नदिएको हो । तर, अधिकांश उद्योगले बोतल र सामान्य जारको पानी उत्पादन गरेर बजारमा ल्याउँदा चिसो जारको पानी पनि ग्राहकको घरघरमा पठाइरहेका हुन्छन् ।
पानी उत्पादक उद्योगीलाई अनुमति दिने र पानीको गुणस्तर अनुगमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृत नगरेपनि बजारमा यस्तो पानी प्रशस्त पाइन्छ । तर, स्वीकृत पनि नदिने अनि नियमन गरेर नियन्त्रण पनि नगर्ने गरेको पाइन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्प लाल राईका अनुसार अनुमति नलिईकन यस्तो पानी उत्पादन गरेर बिक्री वितरण गर्न पाइदैन । तर, पनि बजारमा यस्तो पानी भने प्रशस्त रहेको बताउँछन् । उनका अनुसार निर्देशिकाले केहि नबोलेको पानी उत्पादन गरेर बजारमा पठाउने गरी अहिले अनुमति दिने गरिएको छैन ।
तर, उद्योगी आफैंले आफ्नो उत्पादन भन्दै उपभोक्तासम्म पु¥याउँदै आएको पीउने पानी स्वास्थ्यका हिसाबले अनुकुल हुँदैन । त्यसका केहि कारणबारे प्रष्ट्याउँदै राईले भने–पहिलो कुरा यो जारमा सिल प्याक हुँदैन, दोस्रो यो जार सफा गर्न सहज छैन र तेस्रो कुरा यसमा अटोमेटिक फिलिङ प्रणाली छैन । मापदण्ड अनुसार बोतलमा भर्ने पानी अटोमेटिङ फिलिङ हुनुपर्दछ । नर्मल जारको पानी भर्ने विधि पुरानै भए हुन्छ । तर, नर्मल जारमा अनिवार्य लेवल र सिलप्याक राख्नुपर्ने हुन्छ । लेवल र सिलप्याक भएको पानीमा कैफियत हुने संभावना कम हुन्छ । यदि भएमा त्यसमा कारवाही चलाउन सहज हुन्छ ।
तर, सिलप्याक नभएको जारको चिसो पानीमा बाहिरबाट कुनै वस्तु मिसावट गर्न सकिने संभावना हुन्छ । जसले मानव स्वास्थ्यमा असर गर्नसक्दछ । राईले भने उद्योगीले आफ्नो रिक्समा यस्तो जार बजारमा पठाईरहेका हुन्छन्, कहिंकतै कैफियत फेला परे उनीहरुलाई अधिकतम कारवाही हुन्छ । तर, उपभोक्ताले प्रयोग गरेपछि त्यसको हानिनोक्सानी मापन गर्न नसक्ने हुनसक्छ । यसैले पनि निर्देशिकाले चिसो पानी उत्पादन गरेर बिक्री वितरण गर्न रोक्दै आएको छ । कोशी प्रदेशमा हाल १६८ वटा पानी प्रशोधन गर्ने उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगमध्ये तराई क्षेत्रका उद्योगले चिसो पानी जारमा प्याक गरेर बिक्री गर्दै आएका छन् । पानी प्रशोधन हुने उहि प्रक्रिया भएपनि चिसो पानीको जारमा भरेको पानी चिलिङ्गमा राखेर बजारमा पठाइन्छ । त्यो जारमा केहि समयसम्म पानी चिसो नै रहन्छ । तर, यो सफा गर्न नसकिने किसिमको हुन्छ । जसले गर्दा भित्रै लेउ बसेर पानी दुषित हुनसक्ने संभावना अधिक हुन्छ ।
नेपाल पानी उत्पादक महासंघ कोशी प्रदेशका अध्यक्ष पुण्य भट्टराईका अनुसार मोरङमा ४२ उद्योगले पानी प्रशोधन गर्दै आएका छन् । जसमा १४-१५ वटा उद्योगले चिसो जारको पानी उत्पादन गरेर बजारमा पठाउँछन् । यो जार मेशिनले सफा गर्न नमिल्ने हुन्छ । हातले सफा गर्दा यसमा संक्रमण हुने डर उतिकै रहेको छ । त्यसैले जारमा चिसो बनाएर पानी बजारमा बिक्री वितरण गर्नका लागि अनुमति नदिने गरेको हो ।
तर, पानी उद्योगहरुले गुणस्तरमा सुधार भने भरपुर गरेका छन् । निर्देशिकाले धेरै कसेको कारण कसैले पनि उद्योग सहजै चलाउने भन्ने अवस्था भने नभएको उनको भनाई छ । कोशी प्रदेशमा मासिक ६ लाख कार्टुन पानी उत्पादन र खपत हुँदै आएको उनले जानकारी दिए ।