विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस विराटनगरको हिमालय दर्शन कलेजले २०७७ सालको व्याचका १२१ जना विद्यार्थीलाई दिक्षित गरेको छ । कलेजबाट ५ वटा विषयमा स्नातक तह उत्तीर्ण गरेका एक सय बढी विद्यार्थीहरुलाई ईटहरीको सोल्टी होटलमा शनिबार आयोजित एक भव्य समारोह विच विद्यार्थी दिक्षित गर्दै विदाई गरेको हो । दिक्षान्त समारोह कार्यक्रममा बीआइएम, बीसिए, बीएचएम, बीबीएस र बीएससी सिएसआईटी अध्ययन गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र सहित मायाको चिनो प्रदान गर्दै विदाई गरिएको छ ।
दिक्षान्त समारोहको उद्धघाटन प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसेले गरेका थिए । दिक्षान्त प्रमाणपत्र वितरण गर्दै उहाँले नयाँ जिम्मेवारीको थालनी भएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयमा देशभरीका ४ लाख ८० हजार विद्यार्थी अध्ययन गर्दै आएको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयले स्तरीय शिक्षाको पहुँच बढाउन निजी कलेजहरूसँग सहकार्य गरिरहेको उल्लेख गर्दै हिमालय दर्शन कलेजले शैक्षिक गुणस्तरमा निरन्तर सुधार गर्दै आएकोप्रति चालिसेले प्रशंसा गर्नुभयो । हिमालय दर्शन कलेजका प्रिन्सिपल भरत सापकोटाले कलेजले शिक्षाको क्षेत्रमा अनुशासन, मर्यादा र गुणस्तरको ख्याल राख्दै आएको बताउनुभयो ।
“आजको दिन केवल दीक्षान्तको मात्र होइन, नयाँ यात्राको आरम्भको दिन हो, “ उहाँले भन्नुभयो, “यहाँ पाएको ज्ञान, सिप र अनुभवलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रयोग गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा छ । ” कार्यक्रममा उत्कृष्टता पुरस्कार, नेतृत्व पुरस्कार, शान्त सहभागिता पुरस्कार र उदाउँदो तारा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा हिमालय दर्शन कलेजका अध्यक्ष प्राडा प्रोमोद कुमार झा, निर्देशक शैलेन्द्र सिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खड्का, दुर शिक्षाका सिइओ कृष्ण पाण्डे, हिसान नेपालका केन्द्रीय सदस्य शंकर भट्टराई, बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल मणिराज भट्टराई, शिक्षादीप कलेजका निर्देशक भुपेन्द्र दाहाल लगायतले विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना दिएका थिए । त्यसैगरी कार्यक्रममा हिमालय दर्शन कलेजका आइटि डिपार्टमेन्ट प्रमुख सुमित कुमार साह, म्यानेजमेन्ट डिपार्टमेन्ट प्रमुख भुपाल मिश्र, एचएम डिपार्टमेन्ट प्रमुख अन्जु भुजेल, एकाडेमी प्रमुख कुसल निरौला, कोडिनेटर जिवन निरौला लगायतको उपस्थिती रहेको थियो ।
यसपटक बीआइएममा २२, बीसिएमा २७, बीएचएममा २३, बीबीएसमा २१ र बीएससी सिएसआईटीमा २८ जना विद्यार्थी दिक्षित भएको कलेजका निर्देशक भेषराज पोखरेलले जानकारी दिनुभयो । हिमालय दर्शन कलेजबाट स्नातक तह उत्तीर्ण दिक्षित भएका विद्यार्थीहरुले कलेजमा पाएको शिक्षा, सिप र अनुभवले आफ्नो जीवन मात्र होइन, समाजमा पनि सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । दिक्षान्त समारोहमा आफ्ना अभिभावक सहित पुगेका दिक्षित भएका विभिन्न संकायका विद्यार्थीहरूले आफ्ना भावुक मन्तव्य राख्दै कलेजले दिएको शिक्षा र योगदानलाई सधैभरी अर्शिवादको रुपमा राख्ने धारणा राखेका थिए ।