विराटनगर । जंगली हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा एक महिलाको ज्यान गएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको आज विहान उपचारको क्रममा ज्यान गएको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडाल अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घर नजिकको खेतमा पानी लगाउन गएका बेला बिहानका राति ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पैनीबाट पानी ल्याउने क्रममा जंगली हात्तीले आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीले जनाएको छ । अमिनालाई हात्तीले आक्रमण गरेपछि बन्दनाले भने भागेर ज्यान जोगाएकी थिइन् । स्थानीयले होहल्ला गर्न थालेपछि हात्ती जंगलतिर भागेको थियो ।