इन्दु साह
विराटनगर । विराटनगरमा सर्पको देखिने संख्या बढ्दो छ । विशेष गरी शौचालय, ओछ्यान, गोदामघर, फ्रिज, बारी र बसोबास गर्ने घरमा सर्प देखिने क्रम बढेको हो । सर्प उद्धारकर्ता तथा नगर प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद घिमिरेका अनुसार, पछिल्लो समय उद्दार गरिएका सर्पमध्ये धेरैजसो शौचालयबाट फेला परेका छन् ।
वन डिभिजन कार्यालय मोरङको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा मोरङ जिल्लाभरबाट ३ सय ७७ वटा सर्प उद्धार गरिएका छन् । तीमध्ये सबैभन्दा धेरै सर्प विराटनगर, सलकपुर र बेलबारी क्षेत्रबाट उद्दार गरिएको हो। उद्धार गरिएका सर्पमध्ये गोमन सर्पको संख्या सबैभन्दा बढी छ । एक वर्षमै २०८ वटा गोमन सर्प उद्दार गरिएको छ । यस्तै, अजिङ्गर ८ वटा, करेत ८२ वटा, र त्यसबाहेक धामन, किङ कोब्रा, गनगुना लगायतका सर्पको पनि उद्धार गरिएको छ। सर्प देखिएपछि उद्धार गरेर राष्ट्रिय वनक्षेत्रमा पुनर्स्थापना गरिँदै आएको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए। उनले बताएअनुसार उद्धारकर्ता घिमिरेले ३ वर्षअघि तालिम लिएर सर्प उद्दार कार्यमा सक्रिय छन्।
घिमिरेले २३ महिनाको अवधिमा मात्र विराटनगरका विभिन्न स्थानबाट ४ सय ३९ सर्प उद्धार गरिसकेका छन्। हालै उनले नोबेल अस्पतालका संचालक तथा सांसद सुनिल शर्मा घरबाट मनोपोल स्प्रेड कोब्रा नामक नयाँ प्रजातिको सर्प समेत उद्दार गरेको बताएका छन्।
विराटनगरको कोशी अस्पतालमा सर्पदंशको उपचार गरिदैं आएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा कोशी अस्पतालमा १ सय १९ जना सर्पले टोकेका मानिसहरु उपचार गर्न आएका छन् । जसमध्ये ८ जनालाई विषलु सर्पले टोकेको थियो । ८ जनामा ७ जना उपचार पछि घर फर्किए भने एक जनाको मृत्यु भएको छ ।
सर्पले टोकेमा के गर्ने ?
सर्पले टोकेपछि मुखले विष चुस्ने, डोरीले बाँध्ने वा झारफुक गर्ने कार्य नगर्न सर्प उद्धारकर्ता घिमिरेले सुझाव दिएका छन्। बरु, सर्पको फोटो खिच्ने र तत्काल उपचारको लागि कोशी अस्पताल जानुपर्ने उनी बताउँछन्। फोटोबाट सर्पको प्रजाति थाहा पाउँदा उपचार सहज हुने उनको भनाइ छ।
घिमिरेका अनुसार वर्षायाममा सर्पको गतिविधि अधिक हुने भए पनि जाडोमा समेत सर्प देखिन्छन्। गएको माघ महिनामा मात्र ३५ वटा सर्प उद्धार गरेको छु, उनले भने । सर्प देखिएमा घिमिरेसँग तत्काल सम्पर्क गरे उद्धार गरेर त्यसको वासस्थानमा पुर्नस्थापना गरिने छ । सर्प देखिएमा घिमिरेसँग तत्काल सम्पर्क( ९८४२१६१७८४)गरे उद्धार गरेर त्यसको वासस्थानमा पुर्नस्थापना गरिने छ ।