सोनु साह
विराटनगर । विराटनगरथित नोबेल शिक्षण अस्पतालले काठमाण्डौं बाहिर पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा काठमाण्डौं बाहिरको अस्पतालले अत्याधुनिक शल्यक्रियामा सफलता पाएको हो ।
श्रवण शक्ति धेरै कम भएकाहरूमा गरिने यस्तो शल्यक्रियाले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुका साथै पूर्वमा नयाँ स्वास्थ्य सेवा समेत थप भएको छ । नोबेल शिक्षण अस्पतालका नाक, कान, घाँटी विभागका डाक्टर शाहका अनुसार दुवै बालकमा जन्मजात श्रवण शक्ति थिएन । परीक्षण र उपचार परामर्श पछि दुवै बालकका परिवारको सहमतिमा शल्याक्रिया गरिएको थियो । शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै परिवारजनमा खुशी छाएको छ ।
‘यो जटिल शल्यक्रिया थियो, हाम्रो टिमको अथक प्रयास र प्रविधिको सही प्रयोगले सफल भएका छौं’ डाक्टर शाहले भन्नुभयो–बालबालिकाले सामान्य जीवन जिउन सक्नेछन्, जसले धेरैलाई खुशी थपिनेछ ।
यो शल्यक्रियापछि बालबालिकाको भाषा विकासका लागि थेरापी र विशेष तालिमको आवश्यकता पर्छ । जुन अस्पतालबाटै उपलब्ध हुनेछ । सफल शल्यक्रियाले स्वास्थ्य क्षेत्रमा नोबेल शिक्षण अस्पतालको योगदानलाई थप उचाइमा समेत पुर्याएको छ । पूर्व क्षेत्रमा जटिल प्रकारको शल्याक्रिया सेवा समेत थपिएको डाक्टर शाहले जानकारी दिनुभयो । अस्पतालमा कोक्लियर इम्प्लान्ट शल्यक्रियाका लागि आवश्यक अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको उपलब्धता रहेको छ ।
जन्मजात वा अन्य कारणले कान सुन्न र बोल्न नसक्ने समस्या भएका बालबालिकाका लागि कोक्लियर इम्प्लान्ट वरदान सरह मानिन्छ । जुन शल्यक्रियामार्फत कानको भित्री भागमा एउटा सानो इलेक्ट्रोनिक उपकरण राखिन्छ । जसले आवाजलाई मस्तिष्कसम्म पुर्याउन मद्दत गर्छ भने कान बाहिर साउण्ड प्रोसेस डिभाइस राखिएको हुन्छ ।
यसपछि बिस्तारै सुन्ने क्षमताको विकास हुँदै जान्छ र बालबालिकाले बोल्न सिक्छन् । गम्भीरदेखि अति गम्भीर श्रवण गुमाएका, परम्परागत कान सुन्ने उपकरणले सुनाइमा सहयोग नगरेका, दुर्घटना, औषधिको असर वा अन्य कारणले सुनाइ गुमाएका वयस्कहरूमा पनि यो प्रविधीले श्रवण शक्ति प्रदान गर्ने दावी चिकित्सकहरुको छ ।
सेवा बारे अस्पतालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नोबेलका संचालक समितिका सल्लाहाकार सोइना शर्मा, अस्पताल निर्देशक प्रा.डा. राजेश नेपाल, नाक कान घाँटी रोग विभागकी प्रमुख डा. मीनाक्षी बस्नेतसहितको उपस्थिति रहेको थियो ।