प्रेम देवान
विराटनगर । कोशी अस्पताल विराटनगरमा रेबिज विरुद्धको खोप अभाव हुँदा महंगोमा किन्नुपर्ने बाध्यतामा सेवाग्राही छन् । कुकुरले टोकेर खोप लगाउन पुगेका अधिकांश सेवाग्राही बाहिरबाट महङ्गो खोप किन्न वाध्य भएका हुन् ।
पूर्वी नेपाल कै सबैभन्दा पुरानो र ठुलो मानिएको अस्पतालमा रेबिजको खोप अभाव भएपछि उपचारका लागि पुगेकाहरु र आफन्त हैरान खेप्दै बाहिरका निजी औषधी पसलबाट किन्न वाध्य भएका हुन् । कुकुर लगायत अन्य जनावरले टोकेका दैनिकी १५ देखी २० जनासम्म अस्पताल आउने गरेका छन् ।
कोशी अस्पतालमा असार १३ गतेदेखी आवश्यक पर्ने रेबिज खोप अभाव भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले प्रदेश, केन्द्रमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खोप माग गरिए तापनि आपूर्ति नहुँदा समस्या उत्पन्न भएको जनाएको छ ।
मोरङको बेलबारी ५ बाट कुकुरले टोकेर अस्पताल आईपुगेकी ५२ बर्षिया चम्पा खवासले निःशुल्क खोप लगाउन पाईन्छ भनेर आएकी थिईन् । तर अस्पतालले औषधी छैन भनेपछि तनावमा परिन् । ‘‘त्यती टाढाबाट आईयो औषधी नै रहेनछ’’, उनले भनिन् दुःख पाउनसम्म पाईयो ।
कोशी अस्पतालका स्वास्थ्यकर्मी विमल सरदारका अनुसार दैनिक १५–२० जनासम्म रेबिज खोपका लागि आउने गर्दछन् तर खोप अभावका कारण उनीहरुलाई अन्य निजी क्लिनिक वा फार्मेसी धाउन सुझाउनुपर्ने बाध्यता छ । “खोप अभावका कारण बिरामी र आफन्त आक्रोशित हुने गरेका छन्”, उनले भने । हामीले त हुँदा निशुल्क नै खोप लगाउदै आएका थियौ , तर असार १३ गतेदेखी खोप अभाव छ,’’ सरदारले भने । ‘‘विरामीले बाहिरबाट किनेर ल्याउनेहरुलाई एउटा एन्टी भेक्सनबाट २ जना विरामीलाई मिलाएर खोप हाल्ने गरेका छौँ ।’’
यता कोशी अस्पतालकी मेसु रुणा झाका अनुसार खोप हुँदा निशुल्क लगाएपनि अहिले नभएपछि विरामीले बाहिरबाट किनेर ल्याए भने खोप हाल्ने गरेका छौँ झाले भनिन्, । ‘हामीले पटक पटक मन्त्रालयमा कुरा पनि राख्दै आएका छौँ, तर सुनवाई भईरहेको छैन ।’ झन्डै १८ दिन भन्दा बढी समयदेखी खोप आपूर्ति नहुँदा समस्या जटिल बन्दै गएको छ । प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले यो समस्या तत्काल समाधान नगरे विरामीले अझ धेरै दुख भोग्नुपर्ने देखिएको छ । आम जनताको स्वास्थ्यसँग जोडिएको खोपको अभाव गम्भीर विषय हो, यसमा सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिएको छ ।