इन्दु साह
विराटनगर । स्वास्थ्य बीमा सेवामार्फत उपचार लिनका लागि कोशी अस्पताल विराटनगरलाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने बीमितको संख्या एकलाख भन्दा बढी रहेको छ । विराटनगर महानगरका भित्रबाट मात्रै १ लाख १६ हजार ३६० बीमितले कोशी अस्पताललाई प्रथम सेवा बिन्दुको रुपमा रोज्ने गरेका हुन् ।
गत आर्थिक वर्ष २०८१\२०८२ को तथ्यांक अनुसार कोशी अस्पतालमा १ लाख २३ हजार ९८३ जना बीमितले उपचार सेवा क्लेम गरेका छन् ।
कोशी अस्पताल बीमा स्वास्थ्य सेवा विभागका प्रमुख भोला ढुंगेलका अनुसार मासिक रुपमा सात हजारदेखि १२ हजारसम्म सेवाग्राहीले बीमा क्लेम गरेर उपचार गराउँदै आएका छन् ।
कोशी अस्पतालमा अहिले पनि बीमामार्फत स्वास्थ्य सेवा लिनका लागि प्रथम सेवा बिन्दु तथा रेफरल दुवै सुविधा रहेको छ । स्वास्थ्य बीमा बोर्डको असार १९ गते बसेको १४ औं बैठकमार्फत संघीय सरकार मातहतका सबै अस्पताललाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउने निर्णय गरेको थियो । तर, त्यो निर्णय बुधबारदेखि सच्चिएको छ । निर्णय सच्चिएसँगै साउन १ गतेदेखि पुनः पहिलाकै जस्तो सेवा अस्पतालबाट लिन पाउने सुविधा रहेको छ ।
अस्पतालको तथ्याङ्कअनुसार, कोशी अस्पतालमा दैनिक औसत ८५१ जना बिरामी उपचारका लागि आउने गरेका छन् । जसमा ४१७ जना बीमा वापतको सेवा लिने हुने गर्दछन् । दैनिक २५० जनाले प्रथम सेवा बिन्दु कोशी अस्पताललाई बनाएर स्वास्थ्य परीक्षण गराउने गरेको तथ्यांक छ ।
गत आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ असार मसान्तसम्म कोशी अस्पतालमा १ लाख २३ हजार ९८३ जना बीमित सेवाग्राहीले उपचार सेवा लिए वापत २८ करोड ५९ लाख ४ हजार ५६७ रुपिँया दावी योग्य रकम छ ।
अघिल्लो आर्थिक वर्ष २०८०\८१ को असार मसान्तसम्म १ लाख २४ हजार ४४९ जना बीमित बिरामीको उपचार गरी कुल २८ करोड ५१ लाख ७१ हजार ६१० रुपैयाँ स्वास्थ्य बीमा बोर्डसँग भुक्तानीको दाबी गरिएको थियो । त्यसमध्ये बोर्डले जम्मा ८५ लाख ९० हजार रुपैयाँ मात्रै भुक्तानी गरेको थियो । बाँकी २७ करोड ६५ लाख रुपैयाँ बोर्डले भुक्तानी दिनुपर्ने देखिन्छ ।