विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मिलन केसीमाथि मादक पदार्थ पीएर अस्पतालका सरसफाई कर्मचारी कुटपिट गरेको आरोप लागेको छ । उनले अस्पतालमा परिसरमा होहल्ला गर्दै सरसफाई कर्मचारीमाथि कुटपिट गरेको घटनापछि त्यसको विरोध सुरु भएको हो ।
स्थायी चिकित्सक रहेका डा. केसीले विहीबार राति मदिरा सेवन गरेर अस्पताल पुगेका थिए । उनको क्वाटर नजिकैको फोहोर व्यवस्थापन गर्नुपर्ने विषयमा विवाद हुँदा अस्पतालका स्वीपर विराटनगर–८ निवासी ३२ वर्षीय शंकर मलिकमाथि हातपात गरेको आरोप छ । मलिकलाई कोशी अस्पतालको आकस्मिक कक्षअगाडि कुटपिट गरेको भन्दै सररसफाईका कर्मचारीले अस्पताल परिसरमा शुक्रबार विहान केहीबेर प्रर्दशन गरेका थिए ।
मलिकले घटनाको जानकारी अस्पताल प्रशासनलाई गराएपछि शुक्रबार अस्पताल प्रशासन र सरोकारवालाबीच छलफलसमेत भएको थियो। छलफलका क्रममा अस्पतालका डाक्टर केसीमाथि विगतदेखि नै मदिरा सेवन गरेर कार्यस्थलमा आउने र सेवा प्रभावित गर्ने गरेको गुनासो राखेका थिए ।
यता आफूमाथि लागेको आरोपबारे डा केसीले आवर विराटनगरसँग प्रतिक्रिया दिँदै घटनामा कुटपिट नभई सम्झाउने क्रममा ‘डाढमा छाप मात्र मारेको बताए । उनी हिजोको घटना बारे जानकारी दिने बेलामा समेत मदिराले लठ्ठ देखिन्थे । मुखभरी पानगुड्का चपाउदै बसेका डाक्टर केसीले उल्टै भने–‘मदिरा त जसले पनि खाईहाल्छ नि’ भन्दै गैरजिम्मेवारी जवाफ दिएका थिए ।
यसअघि पनि डा. केसीमाथि मदिरा सेवन गरी कार्य सम्पादनमा लापरवाही गरेको भन्दै गुनासो आइरहेको थियो। अस्पताल प्रशासनले घटनाको विस्तृत विवरण संकलन गरी आवश्यक निर्णय लिने कोशी अस्पतालकी मेसु डा. रुणा झाको भनाई छ ।
एकपटक हैन पटक पटक यस्ता घटना घटनुले कोशी अस्पतालको नाम सँगै अन्य राम्रा डाक्टरको पद पनि बदनाम भईरहेको छ । त्यसैले यो विषयमा अस्पताल प्रशासन, व्यावस्थापन र चिकित्सक संघहरुले पनि ध्यान दिनु जरुरी देखिन्छ, ता की पुनः अर्को पटक यस्ता खालका घटना नदोहोरियोस ।