विराटनगर, साउन ३ ।
सास्थम कलेजमा शुक्रबार 'एडभर्टिजमेन्ट भिडियो कन्टेस्ट' आयोजना गरिएको छ । प्रतियोगिता कलेजका बीबीए छैटौँ सेमेस्टरका विद्यार्थीहरू माझ ४ समूहमा विभाजन गरी सञ्चालन गरिएको हो । विद्यार्थीहरूलाई सिर्जनात्मक विज्ञापन निर्माणमा संलग्न गराउने उद्देश्यले गरिएको कार्यक्रमबारे कलेज प्रमुख विनय केसीले जानकारी दिएका छन् ।
उनले विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा र प्रस्तुतीकरण सीप विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । प्रतियोगितामा निर्णायकको भूमिका पूर्वाञ्चल विश्वविद्यालयकी व्यवस्थापन संकायकी सह डिन सोनिला शाक्य,उद्योग संगठन मोरङका महाप्रबन्धक चुडामुनी भट्टराई, ओबी मिडियाका निर्देशक विवेक दाहाल, र सास्थम कलेजका निर्देशक रोशन थापाले निर्वाह गरेका थिए ।
कार्यक्रमले विद्यार्थीहरूमा टीमवर्क, विचार अभिव्यक्ति र आधुनिक विज्ञापन प्रविधिको प्रयोग गर्ने क्षमताको अभ्यास गराएको थियो । विजेता समूहलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो ।